ओपनर अर्जुन कुमालले शतक पूरा गरेपछि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज गण्डकी प्रदेशले कोशी प्रदेश लाई ३९ रनले हराएको छ । जितका लागि २२८ रनको लक्ष्य पछ्याएको कोशी ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रनमै सीमित भयो । कोशीको शीर्ष तथा मध्यक्रमले अपेक्षित प्रदर्शन गर्न सकेन। ७० रन जोड्दा नै टोलीले ६ विकेट गुमाएको थियो।
त्यसपछि आठौं नम्बरका दिपेश कँडेल र नवौं नम्बरका आशिष मगर ले आठौं विकेटका लागि ६० रनको साझेदारी गर्दै केही संघर्ष देखाए। आशिष ३० रनमा आउट भए भने दिपेशले ७३ बलमा ३ चौका र १ छक्का सहित अविजित ५२ रन बनाए ।
कोशीका ओपनर सुमन श्रेष्ठले २०, सकिब हकले १७, सोनु अन्सारी ले १८ र सिवास बजगाई ले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । गण्डकीका लागि सिब्रिन श्रेष्ठ ले ७ ओभरमा ३ विकेट लिए। यस्तै अपराजित पौडेल र सुबाश भण्डारी ले समान २ विकेट लिए । त्यसअघि नारायणी क्रिकेट मैदान मा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो। सुरुवात कमजोर रहँदा टोलीले ४५ रनमै ५ विकेट गुमाएको थियो ।
कोशीका दिपेश कँडेलले सुरुवाती ३ विकेट लिए । उनले गौरव विकलाई शून्य रनमा, सिब्रिन श्रेष्ठलाई १ रनमा र मुस्कान थापा लाई १० रनमा आउट गरेका थिए । त्यसपछि दिनेश बुढामगर र दीपक डुम्रे १–१ रनमा तथा सुबाश भण्डारी २ रनमा आउट हुँदा गण्डकी ६० रनमा ६ विकेट गुमाएर दबाबमा परेको थियो ।
तर अर्जुनलाई कप्तान विपिन खत्री ले राम्रो साथ दिए। दुवैले सातौं विकेटका लागि १६७ रनको महत्वपूर्ण साझेदारी गरे। यसक्रममा अर्जुनले १३९ बलमा ८ चौका सहित १०२ रन बनाए । विपिन ८६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ७६ रनमा अविजित रहे ।कोशीका लागि दिपेश कँडेलले १० ओभरमा ३ मेडन राख्दै १८ रन खर्चेर ४ विकेट लिए। राकेश शाह र सुजन थपलियाले समान १ विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस