राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन्। अन्य कुनै पनि दल वा सांसदले सभामुख पदका लागि मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध बनेका हुन्। उनको औपचारिक घोषणा भने आइतबार बस्ने प्रतिनिधिसभाको बैठकबाट हुनेछ।
सभामुख बनेसँगै अर्यालले अब आगामी पाँच वर्षसम्म प्रतिनिधिसभाको नेतृत्व गर्नेछन्। संसद् सञ्चालन, बैठकको अध्यक्षता, दलहरूबीच समन्वय र संसदीय गतिविधिलाई व्यवस्थित बनाउने जिम्मेवारी अब उनकै काँधमा हुनेछ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७३ अनुसार सभामुखले मासिक ६७ हजार ३२० रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था छ। यसबाहेक बैठकमा सहभागी भएबापत बैठक भत्ता र विशेष भत्ता पनि उपलब्ध हुन्छ।
त्यससँगै सभामुखलाई मासिक ३ हजार रुपैयाँ सञ्चार सुविधा, २८ हजार २ सय ७५ रुपैयाँ आवास सुविधा, निजी सचिवालय सञ्चालनका लागि मासिक २ हजार रुपैयाँ, गार्ड घरका लागि २ हजार रुपैयाँ र अतिथि सत्कारका लागि २ हजार ५ सय रुपैयाँ उपलब्ध गराइन्छ। यस्तै, सभामुखलाई मासिक २५० लिटर इन्धन, त्रैमासिक १० लिटर मोविल, बिजुली तथा पानीको बिल, दैनिक भ्रमण भत्ता ३ हजार , १० लाख रुपैयाँ बराबरको यात्रा बीमा, परिचारकका लागि लुगा भत्ता तथा २० जनासम्म सुरक्षाकर्मी र कर्मचारीको सुविधा पनि उपलब्ध हुने व्यवस्था छ।
यी सबै तलब, भत्ता र सुविधा जोड्दा सभामुख अर्यालले मासिक १ लाख २७ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको सेवा सुविधा पाउनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस