एउटा साँघुरो र मधुरो कोठा छ। कोठा अस्तव्यस्त र फोहर छ। त्यहाँ बालेन साह पनि मसँगै एउटै कोठामा तरकारी केलाएर काट्दै हुनुहुन्छ। प्रधानमन्त्री जस्तो गरिमामय पदको मान्छे आफुसँगै हुँदा अनौठो र रमाइलो मिश्रित माहोल छ।बालेन साहको अप्रत्याशित भेटले म उत्पात खुशी छु। तर मनमा अलिअलि डर समेत छ। यसरी साघुँरो कोठामा बस्नुको पिडा मैले उहाँलाई सुनाउन खोजे तर मेरो स्वर घाँटीमै अड्कियो।बालेन साहलाई सामाजिक संजालमा त फलो गरेकै थिए। अब यसरी प्रत्यक्ष भेट हुँदा फेसबुकमा साथी बन्ने सुर चल्यो।
सुटुक्क फोनमा फ्रेन्ड रिक्वस्ट पठाए। तर फ्रेन्ट रिक्वस्ट स्वीकार गर्नुहोस बालेनज्यू भन्ने आट नै आएन।अचानक बालेनज्यू गायब हुनुभयो।उहाँले काटिरहेको तरकारीबाट रगत बग्न थाल्यो।कोठाको भित्तामा झुण्डिएको पुरानो घडि उल्टो घुम्न थाल्यो।हेर्दाहेर्दै कोठाका पुराना भित्ताहरु ढल्न थाले।भित्ताले मेरो करङ थिचे।आखाँको ज्योति हराउदै गयो।म जोडले चिच्याउन खोजे तर आवाज निस्किएन। म पसिनाले निरथुक्क भिजेर मुटुको धड्कन कानैमा सुनिने गरी झसङ्ग भई बिउँझिँए।
बिउँझिँए पछि कोठा शान्त थियो। मेरो हातहरु कापिरहेका थिए । निधारभरी पसिना थियो।मनमा भने अनौठो किसिमको भेल पैदा भईरहेको थियो । नवयुवा आन्दोलनको सफलतासँगै बालेन शाहले प्रधानमन्त्रीको सपथ खाईरहदाँ सायद मेरो अवचेतन मनले यस्तो सपना देख्नु स्वाभाविक थियो । त्यो सपनाको डरले मलाई थिच्नुको साटो विस्तारै एउटा नयाँ चेनता पो थियो ।
साँघुरो कोठा कतै हाम्रो स्थानीय कर्मचारीको सिमित अवसर र साघुँरो कानुनी दायरा त थिएन। अनि प्रधानमन्त्री ज्यूले केलाएर काटिरहनुभएको त्यो तरकारी कतै हामीले दिनरात केलाउनुपर्ने जटिल कार्यविधि र अस्पष्ट नीतिहरु त होइनन् ? अर्को मनले सोच्यो सपनामा बालेनज्यूलाई एउटै कोठामा तरकारी काट्दै गरेको देख्नु कतै हामी एउटै धरातलमा छौ भनेर बुझाउनु पो थियो की। त्यो रगत र ढल्न लागेका पुराना भित्ताहरु कतै मक्किएको संकीर्ण सोच र कर्मचारीतन्त्रका पर्खालहरु पो थिए कि जो ढल्नु नै अनिवार्य थियो।
सपनामा प्रधानमन्त्रीको सादगी देखियो तर विपनामा हामीलाई तपाईको साहस चाहिएको छ। स्थानीय कर्मचारी बलियो नभई संघीयताको जग बलियो हुदैन।सपनामा तपाईले काटिरहनुभएको त्यो तरकारीको टोकरीमा आलु प्याज मात्र थिएनन। त्यहाँ त हाम्रा मास्टर डिग्रीका प्रमाणपत्र र लोकसेवाका सिफारिस पत्रहरु पनि थिए।एउटै पद, एउटै पालिका र भूगोलमा हामीलाई यसरी गुन्द्रुक खाँदिए झै खाँदिएको छ कि, हाम्रो क्षमता त सडेर जाने बेला भैसक्यो।सपनाको कोठा जति साँघुरो थियो स्थानीय तहका कानुनी गल्लीहरु त्योभन्दा कैयौं गुणा साँघुरा छन।
संघले एउटा कानून भन्छ, प्रदेशले अर्कै गित गाँउछ। हामी तल बसेर कुन तरकारीमा कुन मसला (ऐन) हाल्ने भनेर अलमल्ल परिरहेको छौ।केही तलमाथि भयो भने जनप्रतिनिधि त राजनीतिको ढाल ओढेर उम्किन्छन तर हामी कर्मचारी भने अख्तियारको कराहीमा डढ्नुपर्ने नियति छ। हामीलाई गाउँको सिंहदरबार को सिपाही त बनाइयो तर हाम्रा हतियार (कानून) भुत्ते छन। हाम्रो भविष्य कुहिरोको काग जस्तै भएको छ।संघीयताको मेरुदण्ड स्थानीय तह हो। तर मेरुदण्डका नसाहरु (कर्मचारी) नै थिचिएका छन् भने यो प्रणाली कसरी तन्दुरुस्त रहन सक्ला? राजनितिक रुपमा आज एउटा नगरको प्रमुखबाट यो देशको प्रधानमन्त्री बन्ने वैधानिक र नैतिक हैसियत बन्यो । यसका लागि काठमाडौदेखि सिंहदरबारको बाटो खुला छ तर स्थानीय तहको कर्मचारीले आफ्नो कार्यक्षमताको आधारमा सिंहदरबारको मुख्य सचिवको कुर्सीमा बसेर देश चलाउने सपनामा किन बन्देज ? बालेनजी तपाई प्रधानमन्त्री हुँदै गर्दा कृपया यो देशको प्रशासनिक मेरुदण्ड भाँचिएर भुँईमा लत्रिएको दृश्य पनि सम्झिदिनु होला।
सपनाको अर्को एउटा दृश्यले मलाई झन विझाइरहेको छ। हामी एउटै कोठामा आमने सामने हुँदा समेत मैले प्रधानमन्त्रीज्यू, मेरो Friend request accept गरिदिनुहोस भन्न सकिन। मेरो औला मोबाइलको स्क्रिनमा लगलगाई रह्यो तर ओठ खुल्न सकेनन। त्यो सपनामा नभनिएको रिक्वेस्ट त खासमा हाम्रो अस्तित्वको माग पो रहेछ।हामी एउटै जनताको सेवामा छौ तर हाम्रो बीचमा यस्तो अदृश्य पर्खाल छ। जसले हामीलाई साथी वा सहयात्री होइन शासक र सेवक को कित्तामा उभ्याईदिएको छ।
हामीलाई सुविधाको महल चाहिएको होइन, हामीलाई त यो विना ढोकाको कोठाबाट बाहिर निस्कने एउटा न्यायपूर्ण बाटो चाहिएको हो। हुम्लाको दुर्गम स्थानीय तहमा कार्यरत कर्मचारीबाट ताप्लेजुङमा रहेका बुढा आमाबुवा र नव विवाहित पत्नीले के आस गर्ने। प्रधानमन्त्रीज्यू तपाई देशको सिस्टम बसाल्ने कुरा गर्दै गर्दा दुर्गम पालिकामा बसेर स्थानीय कर्मचारीले आफ्नो पारिवारिक सिस्टम भत्किएको टुलुटुलु हेर्न बाध्य छन।एउटा अन्तर तह सरुवाको स्पष्ट कानून नहुँदा कर्मचारी र परिवारको दुरी बढ्दै गएको छ।एउटा कर्मचारीको मन कर्णालीको चिसोमा ताप्लेजुङको न्यास्रोले कामिरहेको छ भने उसले कुन उत्साहले यो देशको सेवा गर्ला ?
अर्को कुरा शुन्यको घेराभित्र स्थानीय कर्मचारी पनि आफ्नो क्षमता बढाउन चाहन्छन।संघ र प्रदेशका कर्मचारी छात्रवृतिमा विश्व घुमिरहदा हामीलाई किन यो अवसरबाट बन्चित गरिएको छ। हामी सेवक हौ, दास होइनौ। हामीलाई हाम्रो कामप्रति सम्मान छ तर यो प्रशासनिक जेल प्रति घृणा छ। प्रधानमन्त्री ज्यू, सपनामा तरकारी काटिरहनु भएको थियो। तरकारी पकाउदा त्यसमा “न्यायको नुन” र “अवसरको मसला” पनि थपिदिनुहोला। हामीलाई हाम्रो गर्व बचाइराख्ने आधार चाहियो, नत्र यो गर्व पनि ढिलो चाडो ग्लानिमा बदलिनेछ।
(लेखक छविजंग मल्ल वरिष्ठ लेखा अधिकृत हुन् । उनी दैलेखकाे ठाटिकाँध गाउँपालिकामा कार्यरत छन।)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस