वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार ब्याजदर घटेको हो ।
चैत महिनाको तुलनामा वैशाखमा व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपदर औसतमा घटेको देखिएको हो । चैतमा व्यक्तिगत निक्षेपतर्फ औसत ब्याजदर ४.४९ प्रतिशत रहेकोमा वैशाखमा घटेर ४.४० प्रतिशतमा झरेको छ । त्यस्तै संस्थागत निक्षेपतर्फ चैतमा ३.२९ प्रतिशत रहेको औसत ब्याजदर वैशाखमा घटेर ३.२३ प्रतिशतमा सीमित भएको छ ।
बैंकगत रूपमा हेर्दा केही बैंकहरूले ब्याजदर घटाएका छन् भने केहीले यथावत् राखेका छन् । सिटिजन्स बैंक इन्टरनेशनल र एभरेस्ट बैंकले व्यक्तिगत निक्षेपदरमा क्रमशः ०.३५ र ०.२० प्रतिशतले ब्याजदर घटाएका छन् । त्यसैगरी हिमालयन बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशतले ब्याजदर घटाएको छ ।
नबिल बैंकले संस्थागत निक्षेमा ०.५४ प्रतिशतले घटेको छ भने एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि ०.२५ प्रतिशतले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । त्यस्तै सिद्धार्थ बैंकले दुवै प्रकारका निक्षेपदरमा ०.२५ प्रतिशतले ब्याजदर घटाएको छ । यद्यपि ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, एनएमिब बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र सानिमा बैंकले दुवैतर्फको ब्याजदर यथावत् राखेका छन् ।
वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपमा कृषि विकास बैंकको ब्याजदर ४.१५ प्रतिशत तोकिएको छ । त्यसतै सिटिजन्स बैंकको पनि ४.१५ प्रतिशत नै ब्याजदर तोकिएको छ । एभरेष्ट बैंकले वैशाख महिनाका लागि ४.०५ प्रतिशत ब्याजद तोकेको छ । त्यस्तै ग्लोबल आईइएमी बैंक, लक्ष्मी सनराइल बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, नेपाल इनभेष्टमेन्ट मेघा बैंक, सानीमा बैंक र हिमालयन बैंकले वैशाख महिनाका लागि ४.५० प्रतिशत ब्याज निर्धारण गरेका छन् ।
त्यस्तै कुमारी बैंकको ४.०५ प्रतिशत, नविल बैंक, ४.५५ प्रतिशत, नेपाल एसविआई बैंकको ४.२५ प्रतिशत, एनआईसी एशिया बैंकको ४.७५ प्रतिशत, एनएमबी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ४.५५ प्रतिशत, प्राइम कमर्सियल बैंकको ४.१५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.७५ प्रतिशत, सिद्धार्थ बैंकको ४ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.१० प्रतिशत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस