चालु आर्थिक वर्षको नौ महिनामा ४१ अर्ब रुपैयाँ भन्दा बढीको वैदेशिक लगानीको प्रतिबद्धता भएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको हो ।
जुन ६१५ वटा परियोजनाका लागि हो । विभागका अनुसार साना परियोजनाहरूमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । कुल दर्ता भएका उद्योगमध्ये ५९९ वटा साना उद्योग रहेका छन् । बाँकी मझौलाका लागि ८ वटा र अर्को ८ वटा ठूला परियोजनाका लागि लगानी प्रतिबद्धता भएको छ ।
कुन परियोजनाका लागि कति आयो लगानी ?
उद्योग विभागका अनुसार यस वर्ष परियोजनाका आधारमा सबैभन्दा बढी कृषिमुलक परियोजनाका लागि वैदेशिक लगानी भित्रिएको छ । विभागका अनुसार चैत मसान्तसम्म यस क्षेत्रमा १६ परियोजनाका लागि २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी भित्रिएको छ ।
दोस्रोमा पर्यटन उद्योगको क्षेत्रमा १६४ परियोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको विभागले जनाएको छ । यसैगरी सेवामुलक क्षेत्रमा ४७ वटा परियोजनाका लागि ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, उत्पादनमुलक क्षेत्र (औद्योगिक)तर्फ ३८ वटा परियोजनाका लागि २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, आईटीसी (सूचना तथा प्रविधिको क्षेत्र)मा ३४६ परियोजनाका लागि १ अर्ब ४५ करोड ७२ लाख रुपैयाँ बराबरको लगानी प्राप्त भएको छ । यसले के देखाउँछ भने, पछिल्लो समय नेपालको आईटी क्षेत्रमा काम गर्न विदेशी कम्पनी तथा लगानीकर्ताहरू इच्छुक बनेका छन् ।
यसैगरी, समीक्षा अवधिमा ऊर्जा क्षेत्रमा हालसम्म दुइटा परियोजनाका लागि २३ करोड ४२ लाख ५० हजार रुपैयाँ मात्र वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ भने खनिजमुलक क्षेत्रमा पनि दुइटा परियोजनाका लागि जम्मा ११ करोड ५० लाख रुपैयाँ बराबरको मात्र वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस