नेपालको डिजिटल भुक्तानी प्रणालीमा नेतृत्वदायी भूमिका खेल्दै आएको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पछिल्ला वर्षहरूमा आफ्नो आम्दानीमा उल्लेख्य सुधार गरेको छ। स्थापनाको छोटो समयमै लोभलाग्दो प्रगति गरेको यस कम्पनीले सन् २०२६ को पहिलो ६ महिनामा मात्रै ६१ करोड १० लाख रुपैयाँ आम्दानी गर्दै आफ्नो व्यावसायिक उचाइलाई थप मजबुत बनाएको हो।
कम्पनीको आम्दानीको ग्राफ पछिल्लो चार वर्षदेखि वार्षिक औसत ६१ प्रतिशतले वृद्धि भइरहेको छ । कम्पनीको व्यावसायिक विस्तारमा डिजिटल भुक्तानीको बढ्दो लोकप्रियता र १७ लाखभन्दा बढी मर्चेन्टहरूको आबद्धताले आधारभूत भूमिका खेलेको छ। सन् २०२५ सम्मको चार वर्षे तथ्याङ्क अनुसार, फोनपेमार्फत हुने अन्तर-बैंक रकम स्थानान्तरणमा वार्षिक औसत १०२ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ। त्यस्तै, क्युआर कारोबारमा वार्षिक १४८ प्रतिशत र अनलाइन भुक्तानीमा २१ प्रतिशतको औसत वृद्धि भएको छ। सञ्चालन खर्च नियन्त्रित रहँदा र व्यवसायको आयतन बढ्दै जाँदा कम्पनीका मुनाफा सूचकहरू निकै मजबुत बनेका छन्। पछिल्लो दुई वर्षमा औसत पुँजीमा प्रतिफल ५७ प्रतिशत रहेकोमा सन् २०२६ को पहिलो छ महिनामा पनि यो ५६ प्रतिशतको उच्च स्तरमा कायम छ।
आम्दानीसँगै कम्पनीका अन्य वित्तीय सूचकहरूमा पनि उल्लेख्य सुधार आएको छ। सन् २०२३ मा सञ्चालन मुनाफा मार्जिन ८.४ प्रतिशत मात्र रहेकोमा सन् २०२६ को पहिलो ६ महिनामा यो बढेर ५१.६ प्रतिशत पुगेको छ। पूर्ण रूपमा ऋणमुक्त रहनु र आफ्नै पुँजी तथा सञ्चित नाफाबाटै व्यवसाय विस्तार गर्नु कम्पनीको सबैभन्दा सबल पक्ष हो। यसैगरी, सन् २०२६ को सुरुवाती ६ महिनाको अवधिमा कम्पनीसँग ६४ करोड ७० लाख रुपैयाँ बराबरको बलियो नगद मौज्दात रहेको छ।
बजारको करिब ८६ प्रतिशत हिस्सा ओगटेको फोनपेले केवल आन्तरिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो सञ्जाल फैलाइरहेको छ। भारतसहित १३ देशका १८ वटा अन्तर्राष्ट्रिय वालेटमार्फत नेपालमा भुक्तानी गर्न सकिने व्यवस्था मिलाउनुले यसको प्रविधि र पहुँचलाई थप प्रमाणित गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश बाँड्न सफल हुनु र इक्रा नेपालबाट 'ए माइनस' जस्तो बलियो क्रेडिट रेटिङ पाउनुले यो कम्पनी वित्तीय रूपमा निकै सुरक्षित रहेको देखिन्छ। सूचना प्रविधि क्षेत्रमा राज्यलाई सर्वाधिक कर बुझाएर सम्मानित समेत भएको फोनपेले अब बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई सहभागी गराउँदै डिजिटल अर्थतन्त्रको यात्रामा नयाँ अध्याय सुरु गर्ने तयारी गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस