ठेक्का प्रणाली ह्याक प्रकरणमा थप दुई अभियुक्त प्रक्राउ परेका छन् । सार्वजनिक खरिदसम्बन्धी ईजीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याइ ठेक्का विवरण हेरफेर गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जानकारी दिएको हो ।
विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा सिरहाको लहान नगरपालिका–९ स्थायी ठेगाना भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बसोबास गर्दै आएका ३० वर्षिय स्वदेश पोखरेल र नुवाकोटको ककनी गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४५ वर्षिय प्रकाश ढुंगाना रहेका छन् ।
सीआईबीका अनुसार पोखरेललाई काठमाडौँ महानगरपालिका–३२ पेप्सिकोला क्षेत्रबाट र ढुंगानालाई बालाजुबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओको ईजीपी प्रणालीमा प्रवेश गरी विभिन्न ठेक्काका विवरण परिवर्तन गर्ने, आर्थिक प्रस्ताव खोलिनुअघि नै सम्बन्धित कागजातमा हस्तक्षेप गर्ने जस्ता गतिविधि भएको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । सोही क्रममा थप दुई अभियुक्त संलग्न रहेको पुष्टि भएपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
उनीहरू क्रमशः ईन्कोन प्रालिका सेयरधनी तथा लेखापाल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक रहेको खुलेको छ । पक्राउ परेका दुवै जनामाथि संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस