अर्थ संसार, काठमाडौं– काठमाडौँ– ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिरको छाना फेर्न सहयोग जुटाउने उद्देश्यले गरिएको श्रीमद्भागवत् महायज्ञमा रु तीन करोड संकलन भएको छ ।
फागुन २३ गतेदेखि शुरु भएको महायज्ञ आज समापन भएको हो । समापन कार्यक्रममा रु तीन करोड एवं तामा, पित्तलका भाँडा जम्मा भएको महायज्ञ आयोजक समितिले जनाएको छ ।
समापन कार्यक्रममा काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राई, काठमाडौँ क्षेत्र नं ३ प्रदेशसभा ९ख० का सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, महायज्ञ आयोजक समितिका अध्यक्ष कमलबहादुर विष्ट, नगरपालिकाका प्रमुख सल्लाहकार एवं आयोजक समितिका महासचिव दीपक रिसाललगायतले मन्दिरको छाना फेर्न सहयोग जुटेकामा खुसी व्यक्त गर्नुभयो ।
महायज्ञबाट जुटेको सहयोगले मात्र छाना फेर्न नपुग्ने भएकाले थप रकम जुटाउन लाग्ने प्रतिबद्धता पनि उहाँहरुले जनाउनुभयो । छाना फेर्न पुरातत्व विभागले पनि आगामी आर्थिक वर्षमा बजेट छुट्याउने सार्वजनिक घोषणा गरेको छ ।
नगरपालिकाको नामसमेत मन्दिरकै नामबाट राखिएकाले छाना फेर्न प्रत्येक वर्ष बजेट छुट्याउने नगर प्रमुख चालिसेको प्रतिबद्धता जनाउनुभएको छ । सांसदहरुले पनि थप सहयोग जुटाउन लाग्ने बताउनुभयो ।
प्रमाणिक अभिलेख नपाइए पनि राजा मानदेवको शासनकालमा निर्माण भएको विश्वास गरिने गोकर्णेश्वर मन्दिरमा हाल झिँगटीको छाना छ । वर्षौँदेखि झिँगटी नफेर्दा वर्षामा पानी चुहिन्छ । वर्षाको पानीले पुरातात्विक मन्दिर जीर्ण बन्दै गएको पुजारी जगदीश भट्टले बताउनुभयो ।
ऐतिहासिक मन्दिर जीर्ण बन्दै गएपछि गोकर्णेश्वर नगरपालिका र स्थानीयवासीको सहभागितामा छाना फेर्न सहयोग जुटाउने उद्देश्यले श्रीमद्भागवत् मूल आयोजक समिति गठन गरिएको थियो । नगरपालिकाको नौवटै वडाका अध्यक्षलाई समितिको उपाध्यक्ष राखेर आयोजक समिति गठन गरिएको छ ।
सात हजार ४०० वर्गफिटको छाना तामामा सुनको लेप भएको लगाउने तयारी गरिएको समितिले जनाएको छ । यसका लागि प्रतिवर्गफिट रु २१ हजार २५० लाग्ने प्राविधिक प्रतिवेदनमा उल्लेख छ । मन्दिरको छाना फेर्न कुल लागत रु १५ करोड ७१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको अध्यक्ष विष्टले बताउनुभयो ।
भागवत् वाचक ईश्वरकृष्ण शास्त्रीले मन्दिरको छाना फेर्न सहयोग जुटाउने उद्देश्यले लगाइएको महायज्ञमा निःशुल्क कथा वाचन गर्नुभएको थियो ।
पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर मन्दिरमा बालयन्त्रको पूजा हुने भएकाले दुवै मन्दिरको महत्वका बारेमा प्रचारप्रसार गर्नसके पशुपति आएका पर्यटकलाई गोकर्णेश्वर लैजान सकिने सो अवसरमा जानकारी गराइयो ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस