म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको आयोजनाले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रुपमा अघि बढाएको हो ।
बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक र बगरमा कार्यालय स्थापना गरेको आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत्गृहबाट निस्कने पानी फाल्न १ हजार १३० मिटर लामो ‘टेलरेस’ सुरुङ निर्माण थालिएको जानकारी दिए । ‘बगर–तातोपानी खण्डको भिरमा सडक निर्माण नसकिदाँसम्म म्याग्दी नदीको किनारै किनार डाइभर्सन बनाएर बाँध निर्माण स्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग पु¥याएका छौँ,’ उनले भने, ‘टेलरेस टनेल खन्न थालेको सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चरले विद्युतगृह, बाँध र मुख्य सुरुङ खन्ने तयारी गरेको छ ।’
म्याग्दी र कुनाबाङ खोलाको दोभानमा निर्माण हुने बाँधबाट ७५ मिटर लामो र ११.९ मिटर अग्लो बालुवा थिग्राउने पोखरी ‘डिसेन्डर’ मा संकलन गरी ७१० मिटर लामो ‘पाइपलाइन’बाट ल्याइने पानीलाई ३ हजार ६०० मिटर लामो सुरुङमा हालिनेछ । पुनः ७५० मिटर पाइपलाइनबाट ल्याइने पानीलाई ६०७ मिटर उचाइबाट पहाडभित्र रहने भूमिगत विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिने छ ।
भूमिगत विद्युतगृह
‘रन अफ रिभर’ प्रकृतिको आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर ‘प्रेसर टनेल’, ५८७ मिटर ‘इनकलाइन्ट टनेल’ र ७५७ मिटर ‘पेनस्टक पाइप’का संरचना रहनेछन् । विद्युतगृहमा तीन वटा युनिट ‘टर्वाइन’ रहनेछन् । आयोजनाबाट प्रतिघण्टा सुक्खायाममा ११७.८२ र बर्खायाममा २६४.४५ गिगावाट विद्युत् उत्पादन हुनेछ । बगर र तातोपानीको बीचमा रहेको पहाडमा बाहिरी भागबाट ६४० मिटर लामो सुरुङ खनेर त्यसभित्र भूमिगत विद्युतगृह बनाउन लागिएको हो ।
बगरदेखि १६.५ किलोमिटर दूरीमा रहेको डाँडाखेत सबस्टेसनबाट केन्द्रीय प्रणालीमा विद्युत् पठाउनका लागि १३२ केभी क्षमताको ‘डबल र मल्टीसर्किट’ प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढाइएको छ । प्रतिमेगावाट २० करोड रुपैयाँका दरले १३ अर्ब लागत अनुमान गरिएको आयोजनाबाट विसं २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सिभिल ठेकेदार गत पुस महिनादेखि परिचालन भएको हो भने इलेक्ट्रोमेकालिक र हाइड्रोमेकानिकल ठेकेदार छनोटको चरणमा रहेका बताइएको छ ।
केही दिनमा भैँसीखर्कमा नेपाली सेनाको ‘क्याम्प’ (आधार शिविर) राख्ने तयारी भएको छ । विस्फोटक पदार्थको सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राखेपछि मुख्य सुरुङ खन्ने तयारी गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस