आयात निर्यात (ट्रस्ट रिसिट) क्षेत्रमा बैंकहरूले प्रवाह गर्ने कर्जा रकम बढेको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले आयात निर्यात शीर्षकमा प्रवाह गरेको कर्जा रकम बढेको हो ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ५४ अर्ब २८ करोड ७० लाख रुपैयाँ कर्जा दिएका छन् । उक्त अवधिमा बैंक वित्तले कुल ७७ खर्ब ८० अर्ब १५ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ खर्ब ४ अर्ब ४० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । आयात निर्यात शीर्षकमा प्रवाह भएको उक्त कर्जा रकम गत आवको सोही अवधिको तुलनामा २३ अर्ब २९ करोड ४० लाख रुपैयाँले बढी हो ।
गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले आयात निर्यातका लागि १ खर्ब ३० अर्ब ९९ करोड ३० लाख रुपैयाँ कर्जा प्रदान गरेका थिए । सो वर्ष कुल ६७ खर्ब ६९ अर्ब २७ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब ५५ अर्ब ९७ करोड २० लाख रुपैैयाँ कर्जा प्रवाह भएको थियो । यो अवधिमा वाणिज्य बैंकहरूले मात्र फागुनसम्म आयात निर्यात क्षेत्रमा १ खर्ब ५४ अर्ब २८ करोड ६० लाख रुपैयाँ कर्जा दिएका छन् । यो अवधिमा उनीहरूले ७० खर्ब १६ अर्ब २३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ६१ अर्ब ४३ करोड ३० लाख कर्जा प्रवाह गरेको देखिएको छ । वाणिज्य बैंकहरूले प्रवाह गरेको यो कर्जा गत आवको सोही अवधिको तुलनामा २३ अर्ब २९ करोड ३० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले ६० खर्ब ४१ अर्ब २१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ४० अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा आयात निर्यातमा १ खर्ब ३० अर्ब ९९ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
त्यसैगरी विकास बैंकहरूले फागुन मसान्तसम्म आयात निर्यातमा १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कुल ६ खर्ब २९ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब ३८ अर्ब ६७ करोड १० लाख कर्जा प्रवाह गरेका थिए । गत आवको सोही अवधिमा भने विकास बैंकहरूले आयात निर्यातमा शीर्षकमा प्रवाह गरेको कर्जा रकम शून्य रहेको थियो । यो अवधिमा उनीहरूले ६ खर्ब २० करोड ५ लाख २० हजार रुपैैयाँ निक्षेप संकलन गरी ५ खर्ब १४ अर्ब २६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । फाइनान्स कम्पनीहरूले पनि चालू आवको फागुन मसान्तसम्ममा कुल १ खर्ब ३७ अर्ब १५ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ३० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा आयात निर्यातमा मात्र प्रवाह गरेको कर्जा रकम शून्य रहेको छ । गत आवको सोही अवधिमा पनि फाइनान्स कम्पनीहरूले कुल १ खर्ब २६ अर्ब ५० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १ अर्ब ६४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा आयात निर्यातमा प्रवाह गरेको कर्जा रकम शून्य नै रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस