गत साता नेपाली सेयर बजार (नेप्से) मा निरन्तर गिरावट र सुस्तता देखिएको छ । बजार बढ्ने अपेक्षा रहे पनि लगातार आएका नकारात्मक समाचारका कारण लगानीकर्ताहरू सतर्क बन्दै ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् ।
विशेषगरी, विवादास्पद व्यवसायी दीपक भट्ट र उनीसँग जोडिएका कम्पनीहरूले सेयर बजारमा एकाधिकार कायम गरी मूल्य चलखेल गरेको खबर सार्वजनिक भएपछि लगानीकर्ताको मनोबल घटेको हो । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानबाट भट्टले बीमा, पुनर्बिमा र जलविद्युत कम्पनीहरूको सेयरमा कृत्रिम रूपमा मूल्य बढाएर ठूलो रकमको चलखेल गरेको तथ्य बाहिर आएको छ । यसले बजारमा सीधा असर पारेको छ ।
नियामक निकायसँगको मिलेमतोमार्फत बजार नियन्त्रण गर्न खोजिएको आरोप पनि लागेको छ । यस्ता गतिविधिले साना लगानीकर्तामा डर बढेको छ । जसका कारण सेयर खरिद गर्नेको संख्या घटेको छ । परिणामस्वरूप नेप्से परिसूचक मात्र होइन, कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको छ ।
व्यवसायीहरुलाई पक्राउ गर्न थाले पछि नेप्से लगातार रुपमा ओरालो लागेको छ । गत साताका पाँच कारोबार दिनमा मात्रै सेयर बजार ५० अंक भन्दा बढीले घटेर कारोबार भएको थियो । बजार लगातार रुपमा घट्दा लगानीकर्ता निकै प्यानिक बनेका छन् । अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहको छन् ।
यो साता कस्तो होला बजार ?
गत साता निरन्तर रुपमा घटेको बजार यो साता कस्तो रहला भन्ने आम चासो रहेको छ । गत साता बजारको दिशा मुख्यतः अनुसन्धान र सरकारी कदममा निर्भर रहने देखियो । यदि सरकारले दोषीमाथि कडा कारबाही गर्ने स्पष्ट संकेत दियो भने लगानीकर्ताको विश्वास विस्तारै फर्किन सक्छ । तर, थप अनियमितता बाहिरिँदै गएमा बजार अझै केही समय अस्थिर रहन सक्छ । अहिले बजार प्राविधिक भन्दा पनि मनोवैज्ञानिक रूपमा पनि प्रभावित भएकाले स्पष्ट दिशा लिन अझै समय लाग्ने अनुमान गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस