पछिल्ला महिनाहरूमा वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार घट्दो क्रममा देखिएको छ। हाल सञ्चालनमा रहेका २० वटा बैंकहरूको औसत आधार दर करिब ५ प्रतिशतको आसपास पुगेको छ।
बैंकहरूले सार्वजनिक गरेको बैशाख महिनाको विवरणअनुसार औसत आधार दर घटेर ५.१२ प्रतिशतमा झरेको छ । जुन चैत महिनाको ५.१९ प्रतिशतको तुलनामा ०.०७ प्रतिशत बिन्दुले कम हो। बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेको छैन। आर्थिक गतिविधि सुस्त हुँदा लगानी विस्तार पनि कमजोर बनेको छ, जसका कारण बैंकहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ। यही अवस्थाले निक्षेपको ब्याजदर घटाउन र आधार दर तल झार्न दबाब दिएको छ।
हाल बैंकहरूले कर्जाको प्रकृति अनुसार आधार दरमा करिब १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर तय गर्छन्। बैशाख महिनाको आधारमा सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको ४.२५ प्रतिशत र एभरेष्ट बैंकको ४.४८ प्रतिशतमा देखिएको छ। त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४.५३ प्रतिशत रहेको छ। नबिल बैंकको आधार दर ४.६५ प्रतिशत पुगेको छ भने नेपाल बैंकको ४.७८ प्रतिशत कायम भएको छ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.९० प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.९५ प्रतिशत, कृषि विकास बैंकको ५.०६ प्रतिशत, सानिमा बैंकको ५.१८ प्रतिशत, माछापुच्छ्रे बैंकको ५.१९ प्रतिशत, प्रभु बैंकको ५.२४ प्रतिशत र सिद्धार्थ बैंकको ५.२६ प्रतिशत रहेको छ। एनएमबि बैंकको ५.२७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.२८ प्रतिशत, सिटिजन्स बैंकको ५.३४ प्रतिशत, कुमारी बैंकको ५.४१ प्रतिशत र प्राइम बैंकको ५.४२ प्रतिशत रहेको छ। सबैभन्दा बढी आधार दर भने हिमालयन बैंकको ५.४६ प्रतिशत, नेपाल एसबिआई बैंकको ५.४९ प्रतिशत र एनआईसी एशिया बैंकको ६.२५ प्रतिशत रहेको छ।
आधार दर कर्जाको ब्याजदर निर्धारण गर्ने मुख्य सूचक हो। यसको उतारचढावले ऋणीले तिर्नुपर्ने ब्याजमा सीधा असर पार्छ। आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने भएकाले ऋण महँगो पर्छ भने घट्दा ब्याजदर कम भई ऋणीलाई केही राहत मिल्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस