नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड को सेयर निष्काशनसँग सम्बन्धित बुक–बिल्डिङ प्रक्रिया अन्तर्गत आयोजना गरिएको ‘रोड शो’ कार्यक्रम सम्पन्न भएको छ। बैशाख ११ गते नक्सालस्थित म्यारियट होटल मा आयोजित उक्त कार्यक्रममा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी संस्थागत लगानीकर्ताहरूले सेयरको मूल्य निर्धारण, मागको अवस्था तथा समग्र मूल्याङ्कन सम्बन्धी आफ्ना धारणा प्रस्तुत गरेका थिए। यस क्रममा अस्पतालको वित्तीय अवस्था, सञ्चालन क्षमता र विस्तार योजनाबारे विस्तृत प्रस्तुति गरिएको थियो।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र ले संस्थाको वर्तमान स्थिति, रणनीतिक दिशा र भावी योजना सम्बन्धी जानकारी दिएका थिए। प्रस्तुतिका आधारमा लगानीकर्ताहरूले अस्पतालको दीर्घकालीन सम्भावनाबारे सकारात्मक चासो देखाएका छन्।
निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले कार्यक्रममा बुक–बिल्डिङ विधि, मूल्य निर्धारणका आधार, माग विश्लेषण तथा नियामक व्यवस्थाबारे विस्तृत जानकारी दिएको थियो। सहभागीहरूले प्रस्तुत प्रक्रिया पारदर्शी र व्यवस्थित रहेको प्रतिक्रिया दिएका छन्।
रोड शो सम्पन्न भएसँगै अब बुक–बिल्डिङ प्रक्रियाको अर्को चरण सुरु हुने भएको छ। योग्य संस्थागत लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य उल्लेख गरी बैशाख २१ गते बेलुका ५ बजेसम्म शिलबन्द खाममार्फत नेपाल स्टक एक्सचेन्ज लिमिटेड मा आशयपत्र पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
यस कार्यक्रमको सफलताले नेपालमा बुक–बिल्डिङ प्रक्रियालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। पारदर्शी मूल्य खोजी प्रणाली र संस्थागत लगानीकर्ताको सक्रिय सहभागिताले आगामी सेयर निष्काशनहरूमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस