चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूबाट बाहिरिएको पोलिसी सरेण्डर रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अवधिमा कुल १० अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको सरेण्डर भएको छ।
यद्यपि, यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा केही घटेको देखिन्छ। गत वर्षको तेस्रो त्रैमाससम्ममा ११ अर्ब ९ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको थियो, जसको तुलनामा हाल ५.४२ प्रतिशतले कमी आएको हो। बीमालेख त्याग गर्ने व्यक्तिहरूको संख्या पनि घटेको छ। अघिल्लो वर्षको चैत मसान्तसम्म ८० हजार १८७ जनाले बीमा पोलिसी समर्पण गरेका थिए भने चालु वर्षमा सो संख्या घटेर ६८ हजार ८५५ मा सीमित भएको छ। यसले करिब १४.१३ प्रतिशतले घटेको देखाउँछ।
नविकरण नभएका (व्यतित) बीमालेखको रकम भने बढ्दो क्रममा छ। गत वर्षको सोही अवधिमा ३६ अर्ब ८७ करोड २० लाख रुपैयाँ रहेको यस्तो रकम चालु वर्षमा बढेर ३७ अर्ब ७३ करोड ४ लाख रुपैयाँ पुगेको छ। जुन २.९७ प्रतिशतको वृद्धि हो। यस्तै, नविकरण नभएका बीमालेखको संख्या भने सामान्य रूपमा घटेको छ। समीक्षा अवधिमा १२ लाख २५ हजार ४५४ वटा पोलिसीहरू नवीकरण नभएको देखिएको छ । जबकि अघिल्लो वर्ष यो संख्या १२ लाख ४६ हजार ३०१ थियो। समग्रमा हेर्दा पोलिसी सरेण्डर हुने दर घट्दो भए पनि नविकरण नगर्ने बीमालेखको रकम भने विस्तारै बढ्दै गएको देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस