अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रको आधार १०० अर्ब डलर पुर्याउनका लागि निजी क्षेत्रको भूमिका बिना सम्भवन नरहेको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वाग्लेले यस्तो बताएका हुन् ।
उनले सरकारले निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि रणनीति तयार गर्ने निर्णय गरिसकेको जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव पारित गर्दै निजी क्षेत्रमैत्री नीति निर्माणतर्फ महत्वपूर्ण कदम अघि बढाएको छ । ‘हामीले झन्डै १०० अर्ब डलरको अर्थतन्त्रको परिकल्पना गरेका छौँ । यो लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ बिना सम्भव छैन,’ वाग्लेले भने, ‘निर्वाचनको बेला होस् वा सरकारमा आएपछि, हाम्रो प्राथमिकतामा निजी क्षेत्र सधैं अग्रस्थानमा छ ।’
उनले उक्त लक्ष्य हासिल गर्न करिब सात वर्षको समयावधि लाग्न सक्ने उल्लेख गर्दै आर्थिक विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धि सबैमा निजी क्षेत्रको भूमिका निर्णायक हुने बताए । उनका अनुसार अर्थतन्त्रलाई फराकिलो बनाउने र नयाँ उचाइमा पुर्याउने जिम्मेवारीमा निजी क्षेत्र प्रमुख साझेदार हो ।
अर्थमन्त्री वाग्लेले रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको भन्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए । ‘रोजगारी सिर्जनादेखि लिएर उत्पादन वृद्धि र निर्यात विस्तारसम्म निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ,’ उनले भने । उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानीमैत्री वातावरण, सहज नियम प्रक्रिया र स्थायित्वमा सरकारले जोड दिने बताए । साथै, निजी क्षेत्रको विश्वास जित्दै आर्थिक सुधारका कार्यक्रम अघि बढाइने उनको भनाइ थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस