Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयर प्रस्तावसहित एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा जेठ १८ मा

अर्थ संसार

मंगलबार, २२ बैशाख २०८३, ०८ : २१ मा प्रकाशित

हकप्रद सेयर प्रस्तावसहित एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा जेठ १८ मा

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशनको प्रस्ताव अनुमोदनका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको वैशाख २० गते बसेको बैठकले जेठ १८ गते बिहान ९ बजे काठमाडौँस्थित भद्रकालीमा सभा गर्ने निर्णय गरेको हो।

हकप्रद सेयर प्रस्ताव सभामा

बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने योजना अघि बढाएको छ। यसअनुसार २ बराबर १ अनुपातमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गरिने प्रस्ताव साधारण सभामा पेश हुनेछ।

उक्त हकप्रद सेयरमार्फत बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबर रकम संकलन गर्ने लक्ष्य राखेको छ। यसअघि पुस २० गते बसेको सञ्चालक समिति बैठकले हकप्रद निष्काशनको प्रारम्भिक निर्णय गरेको थियो।

अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि साधारण सभाबाट अनुमोदन गरिनेछ। त्यसपछि अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा प्रक्रिया अघि बढाइनेछ। सबै नियामकीय स्वीकृति पूरा भएपछि मात्र हकप्रद सेयर निष्काशन हुनेछ।

पुँजी वृद्धि गर्ने तयारी

हकप्रद निष्काशनसँगै बैंकले अधिकृत पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि सभामा लैजाँदैछ। बैंकको अधिकृत पुँजी १९ अर्ब ९२ करोड रुपैयाँबाट बढाएर २७ अर्ब ३८ करोड रुपैयाँ पुर्‍याउने योजना छ।

त्यस्तै जारी तथा चुक्ता पुँजीसमेत वृद्धि गरी २७ अर्ब ३७ करोड ६३ लाख ५० हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव पेश गरिनेछ।

साधारण सभामा बैंकको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, केन्द्रीय कार्यालय कमलादीस्थित आफ्नै भवनमा कायम गर्ने प्रस्ताव, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायतका विषय पनि छलफल हुनेछ।

साथै अध्यक्ष अशोककुमार अग्रवाल र सञ्चालक अनुपा प्रधान राजभण्डारीको नियुक्ति अनुमोदन गरिनेछ। संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक चयनका लागि निर्वाचन कार्यक्रमसमेत सभाको कार्यसूचीमा समावेश गरिएको छ।

बुक क्लोज कहिले ?

साधारण सभा प्रयोजनका लागि बैंकले जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले जेठ ५ गतेसम्म दोस्रो बजारमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा सहभागी हुन पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको