Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिक हस्पिटलको आईपीओ अन्योलमा: संस्थागत लगानीकर्ताबाट अपेक्षाभन्दा निकै कम मूल्य प्रस्ताव

अर्थ संसार

शुक्रबार, २५ बैशाख २०८३, १४ : ०८ मा प्रकाशित

नर्भिक हस्पिटलको आईपीओ अन्योलमा: संस्थागत लगानीकर्ताबाट अपेक्षाभन्दा निकै कम मूल्य प्रस्ताव

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड योग्य संस्थागत लगानीकर्ताबाट अपेक्षाभन्दा निकै कम मूल्य प्राप्त भएपछि अन्योलमा परेको छ। कम्पनीले रोडशोका क्रममा योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयरको मूल्य प्रति कित्ता ११०० रुपैयाँ कायम हुने अनुमान गरेको थियो।

यसका लागि कम्पनीले वैशाख ११ गते शुक्रबार रोडशो (छलफल कार्यक्रम) आयोजना गरेको थियो। कार्यक्रममा कम्पनीले विभिन्न विधि र आधारमार्फत गरिएको मूल्यांकन अनुसार कम्पनीको शेयर मूल्य अधिकतम २१५६.८८ रुपैयाँसम्म पुग्न सक्ने जनाएको थियो। साथै, चार विभिन्न मूल्यांकन विधिबाट निकालिएको औसत मूल्य प्रति शेयर १२९६.९१ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको थियो। यही आधारमा कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि प्रति कित्ता ११०० रुपैयाँ मूल्य निर्धारण हुने अपेक्षा गरेको थियो।

तर, बुक बिल्डिङ निर्देशिका,२०७७ अनुसार मूल्य माग गर्दा प्राप्त भएको मूल्य अपेक्षाभन्दा निकै कम आएको छ। कम्पनीले आशय मूल्य आह्वान गर्दा कुल २९ वटा योग्य संस्थागत लगानीकर्ताले सहभागिता जनाएका थिए। ती लगानीकर्ताले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँदेखि अधिकतम १२५० रुपैयाँसम्मको आशय मूल्य पेश गरेका थिए। तर, अन्ततः कटअफ मूल्य भने ४६० रुपैयाँ मात्र कायम भएको छ। अब कम्पनीले यही मूल्य स्वीकार गर्ने निर्णय गरेमा शेयरको मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ। बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार मूल्य सीमा निर्धारण गर्दा आधार मूल्य ४६० रुपैयाँमा २० प्रतिशत थपेर माथिल्लो सीमा र २० प्रतिशत घटाएर तल्लो सीमा तय गर्नुपर्ने व्यवस्था छ। त्यसपछि कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै आवेदन दिनुपर्नेछ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले बोलकबोल प्रक्रियामार्फत योग्य संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गर्नेछ। आवेदन दिने अन्तिम मितिको भोलिपल्ट नै सबै शेयर बिक्री सुनिश्चित हुने गरी कटअफ मूल्य निर्धारण गर्नुपर्ने प्रावधान रहेको छ।

यस्तै, सर्वसाधारणका लागि आईपीओ जारी गर्दा योग्य संस्थागत लगानीकर्ताका लागि तय भएको कटअफ मूल्यमा १० प्रतिशत छुट दिएर शेयर निष्काशन गर्नुपर्ने व्यवस्था छ। त्यसका लागि पुनः नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्नेछ। बोर्डको स्वीकृतिपछि मात्र कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गर्न पाउनेछ। हाल कम्पनीको जारी पुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ। कम्पनीले उक्त पुँजीको २० प्रतिशत बराबर,अर्थात् २० करोड ४१ लाख २० हजार रुपैयाँ मूल्य बराबरको २० लाख ४१ हजार २०० कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेको हो। जसमध्ये कुल निष्काशनको ४० प्रतिशत अर्थात् ८ लाख १६ हजार ४८० कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी ६० प्रतिशत अर्थात् १२ लाख २४ हजार ७२० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिनेछ।

कस्तो छ वित्तीय अवस्था ?

सन् १९९३ मा स्थापना भएको नर्भिक सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भएको थियो ।

नर्भिकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३३ करोड रुपैयाँको कारोबार गरिसकेको छ । अस्पतालको व्यापार लगातार बढ्दो छ । सन् २०२२ मा १ अर्ब ७८ करोड रुपैयाँको व्यापार गरेको अस्पतालले २०२३ मा १ अर्ब ९१ करोड, २०२४ मा २ अर्ब र २०२५ मा २ अर्ब २२ करोड रुपैयाँको कारोबार गरेको थियो ।

चालु आवको ६ महिनामा अस्पतालको कारोबार २० प्रतिशतले बढेको हो ।अघिल्लो आवमा १६ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको नर्भिकले गत आव २७ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको ईपीएस अर्थात् प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६६ पैसाबाट बढेर ५७ रुपैयाँ ७१ पैसा पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको