सरकारकाले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको ऊर्जा व्यवसायीहरुले बताएका छन् । सोमबार संसदमा पेश भएको आगामाी आर्थिक वर्षको नीति तथा कार्यक्रम निकै राम्रो आएको र यसको कार्यान्वयन कसरी हुन्छ त्यो हेर्न बाँकी रहेको ऊर्जा उत्पादकहरुको भनाइ छ । करिब दुई तिहाइ नजिकको सरकारले ल्याएको नीति तथा कार्यक्रमले निजि क्षेत्रमा उत्साहको संचार पैदा गरेको व्यवसायीहरुको भनाइ छ । रास्वपाको बाचापत्र अनुसारकै नीति तथा कार्यक्रम आएकाले बजेटमा पनि यी विषयहरु समावेश भएर आएको खण्डमा ऊर्जा क्षेत्रमा ठूलो उपलब्धि हुने उनीहरुको भनाइ छ ।
जुन रुपमा अहिले भोगिरहेका समस्याहरुलाई समाधान गर्ने भनिएको र यसले निजी क्षेत्र उत्साहीत भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष आनन्द चौधरीको भनाइ छ । सरकारको नेतृत्व गरेको पार्टीको बाचा पत्रमा समावेश भएका कुराहरु नीति तथा कार्यक्रममा आएले आशा गर्ने ठाउँ रहेको उनी बताउँछन् । ‘सरकारले बाचापत्र अनुसारको नीति तथा कार्यक्रम ल्याएको छ । एकद्धार प्रणालीको कुरा गरिएको छ । त्यसो भयो भने निकै सहज रुपमा ऊर्जा उत्पादन गर्न सकिने हुन्छ,’ उनले भने ।
३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको अवस्थामा निजी क्षेत्र विना यो सम्भव नहुने भएकाले सरकारले ल्याएको नीतिलाई कार्यान्वयन गरेको खण्डमा सहज रुपमा विजुली उत्पादन हुने राज्यको लक्ष्य हासिलमा सहयोग पुग्ने उनको भनाइ छ । अहिले जलविद्युत आयोजना निर्माणका लागि निकै ठूलो समस्याका रुपमा रहेको बनको समस्या समाधान गर्न सकेको खण्डमा जलविद्युत आयोजना समयमा नै निर्माण हुने र लागत पनि कम लाग्ने उत्पादकहरुले लामो समयदेखि उठाउँदै आएको विषय हो । यदि यो कुरालाई सहज बनाउने हो र विभिन्न निकायहरुमा जाने भन्दा एउटा निकायबाट काम भएको खण्डमा ऊर्जा क्षेत्रमा ठूलो क्रान्ति नै आउने व्यवसायीहरु बताउँछन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम निकै राम्रो भएकाले त्यो कार्यान्वयन भएको खण्डमा देश निर्माणका लागि धेरै समय नलाग्ने इप्पानका अर्का उपाध्यक्ष भरत बहादुर खत्रीको भनाइ छ । नीति तथा कार्यक्रम निकै उत्कृष्ट आएकाले कार्यान्वयन कसरी हुन्छ त्यो हेर्नु पर्ने उनले बताए । ‘सरकारले राम्रो नीति तथा कार्यक्रम ल्याएको छ । ३० हजार मेगावट विजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि पीपीए खोल्नु पर्छ,’ उनले भने । सरकारले नेपालमा नै विजुली खपत हुने खालका योजनाहरु पनि ल्याएकाले विजुलीको माग बढ्ने अवस्थामा पीपीए खोलेर छिटो भन्दा छिटो काम गर्नु पर्ने उनको भनाइ छ ।
निजी क्षेत्र लगानी गर्नका लागि तयार रहेको भन्दै सरकारले त्यसका लागि वातावरण निर्माण गर्नु पर्ने उनको भनाइ छ । सरकारले लगानीका लागि सहज अवस्था निर्माण गरेको अवस्थामा निजी क्षेत्र लगानी गर्न तयार रहेको उनले बताए । एकल बहुमतको सरकार त्यो पनि करिब दुई तिहाइ नजिकको सरकारले ल्याएको नीति तथा कार्यक्रम लगपत्र पर्ने अवस्था सिर्जना नहोस् । आफूले गरेका बाचा र नीति तथा कार्यक्रमा समावेश भएका कुरालाई कार्यान्वयन गर्ने तर्फ यो सरकारको ध्यान जाआस् । अहिलेको यो सरकारलाई कुनै पनि काम नगर्ने छुट छैन । संसदको अंकगणित पनि यो सरकारको पक्षमा रहेकाले अहिलेको सरकारले चाहेको अवस्थामा गर्न सक्ने देखिन्छ । त्यो दिशामा अघि बढ्दै सरकारले आफ्ना बाचा पुरा गरेको खण्डमा देशको विकास हुनका लागि धेरै समय लाग्ने छैन । त्यसो हुन सकेन भने नेपाली उखान जुन जोगि आए पनि कानै चिरेका भन्ने उखान थप चरितार्थ हुने निश्चित छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस