चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले वार्षिक विनियोजनको करिब ६० प्रतिशत बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पछिल्ला दश महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड बजेट खर्च भएको हो। चालु आवका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो । जसमध्ये हालसम्म ५९.७५ प्रतिशत खर्च भएको देखिएको छ। कार्यालयको तथ्यांकअनुसार चालुतर्फ विनियोजित ११ खर्ब ८० अर्ब ९८ करोडमध्ये वैशाख मसान्तसम्म ६८.९८ प्रतिशत अर्थात् आठ खर्ब १४ अर्ब ६५ करोड खर्च भएको छ। पुँजीगततर्फ चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन गरिएकोमा हालसम्म २७.९१ प्रतिशत अर्थात् एक खर्ब १३ अर्ब ८४ करोड ९२ लाख मात्रै खर्च भएको छ।
वित्तीय व्यवस्थातर्फ भने खर्च ६५.३० प्रतिशत पुगेको छ। यस शीर्षकमा चालु आवका लागि तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन गरिएकामा हालसम्म दुई खर्ब ४५ अर्ब एक करोड ५४ लाख खर्च भएको छ। उता, सरकारको आम्दानी भने वार्षिक लक्ष्यको ६६ प्रतिशतमा सीमित भएको छ। चालु आवमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख आम्दानी गर्ने लक्ष्य राखिएकोमा हालसम्म १० खर्ब १२ अर्ब पाँच करोड २४ लाख मात्रै संकलन भएको छ।
राजस्वतर्फ सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब उठाउने लक्ष्य राखेको थियो। तर, पछिल्ला दश महिनामा लक्ष्यको ६६.६९ प्रतिशत अर्थात् नौ खर्ब ८८ अर्ब ५५ करोड २२ लाख मात्र राजस्व संकलन भएको छ। त्यस्तै, वैदेशिक अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख प्राप्त गर्ने लक्ष्य राखिए पनि हालसम्म ३३.२८ प्रतिशत अर्थात् १७ अर्ब ७८ करोड ७६ लाख मात्रै अनुदान प्राप्त भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस