Like us!
Follow us!
Connect us!
Watch us!

डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा पनि फोरजी सेवा सुरु

अर्थ संसार

आइतबार, १० जेठ २०८३, १३ : ०९ मा प्रकाशित

डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा पनि फोरजी सेवा सुरु

नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ । समुन्द्री सतहदेखि ४,२०० मिटर उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको संख्या ७५० पुगेको छ ।

माथिल्लो डोल्पामा सञ्चालनमा ल्याइएको यो पहिलो फोरजी साइट हो । अब डोल्पा जिल्लाकै डोल्पो बुद्ध गाउँपालिका र शे–फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा टेलिकमको फोरजी सेवा पुग्न बाँकी छ । नेपाल टेलिकमले निकट भविष्यमा ती स्थानीय निकायहरूमा समेत फोरजी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

फोरजी सेवा विस्तारसँगै स्थानीय बासिन्दा, पदमार्गका पदयात्री र पर्यटकहरूको सञ्चार पहुँच सहज हुनुका साथै विभिन्न प्रशासनिक, सुरक्षा, स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने र दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल नेटवर्कसँग जोड्दै समग्र क्षेत्रीय विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

‘राष्ट्रको सञ्चार’को रूपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अतिदुर्गम स्थानहरूमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पुर्‍याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको