Like us!
Follow us!
Connect us!
Watch us!

अब एमएसएमईलाई पनि डिजिटल लोन: राष्ट्र बैंकको संसोधित मार्गदर्शनबाट अरु कसलाई के फाइदा ?

अर्थ संसार

मंगलबार, २६ जेठ २०८३, ०९ : ३२ मा प्रकाशित

अब एमएसएमईलाई पनि डिजिटल लोन: राष्ट्र बैंकको संसोधित मार्गदर्शनबाट अरु कसलाई के फाइदा ?

नेपाल राष्ट्र बैंकले 'विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन, २०७८' मा संसोधन गर्दै डिजिटल कर्जा प्रणालीलाई थप सहज र प्रभावकारी बनाएको छ। नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले लघु, साना तथा मझौला व्यवसायी (एमएसएमई) हरूलाई कारोबारका आधारमा डिजिटल कर्जा दिन सक्नेछन्।

यस प्रक्रियालाई चुस्त बनाउन कर्जा आवेदनदेखि असुलीसम्मका कार्यमा भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई प्रतिनिधिको रूपमा परिचालन गर्न पाइने सुविधा थपिएको छ। साथै, ऋणीको डिजिटल कारोबार, भुक्तानी इतिहास र व्यवसायिक विवरणका आधारमा कर्जाको मूल्यांकन गर्न बैंकहरूले प्रविधि सेवा प्रदायक (TSP) सँग सहकार्य गर्न सक्नेछन् ।  जसको प्राविधिक जोखिम व्यवस्थापन स्वयं बैंकले नै गर्नुपर्नेछ। यो डिजिटल कर्जा सुविधा बैंकमा तलब वा व्यवसायिक आम्दानीको खाता भएका प्राकृतिक व्यक्ति तथा साना व्यवसायीहरूका लागि लक्षित गरिएको छ। जसको सीमा र भुक्तानी अवधि ग्राहकको प्रकृति अनुसार तोकिए बमोजिम हुनेछ।

नयाँ संसोधित नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरूले भुक्तानी सेवा प्रदायकसँग जोडिएका मर्चेन्टहरूलाई तोकिएको सीमाभित्र रहेर डिजिटल कर्जा उपलब्ध गराउन सक्नेछन्। यसका लागि सम्बन्धित मर्चेन्टको मन्जुरी लिएर भुक्तानी सेवा प्रदायक संस्थाले उनको व्यवसाय र आर्थिक कारोबारको विवरण कर्जा मूल्यांकन प्रयोजनका लागि बैंकलाई उपलब्ध गराउन सक्ने कानुनी बाटो खुलेको छ।

डिजिटल कर्जाको विश्लेषणलाई थप प्रभावकारी बनाउन बैंकहरूले अन्य प्रविधि प्रदायक संस्था (TSP) सँग पनि सहकार्य गर्न पाउनेछन् र ग्राहककै सहमतिमा प्रणालीमार्फत त्यस्ता व्यवसायिक विवरणहरू संकलन गर्न सक्नेछन्। यद्यपि, यसरी प्रवाह गरिने कर्जाको सम्भावित सबै जोखिमहरू सम्बन्धित बैंक तथा वित्तीय संस्था आफैंले बेहोर्नुपर्नेछ। डेटा संकलन प्रक्रियालाई सुरक्षित र पारदर्शी बनाउन बैंक तथा वित्तीय संस्थाले प्रविधि प्रदायक कम्पनीसँग विवरण प्राप्त गर्ने विधि, डाटाको गोपनीयता, आधिकारिकता र ग्राहकको सहमतिका सर्तहरू समेटेर औपचारिक सम्झौता गर्नुपर्नेछ र सो सम्झौताको विवरण अनिवार्य रूपमा नेपाल राष्ट्र बैंकको सम्बन्धित विभागमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको