वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीहरूका लागि नेपाल राष्ट्र बैंकले बैंक ब्यालेन्स र सटही सुविधामा ठुलो सहजीकरण गरिदिएको छ । केन्द्रीय बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन–२०८२ मा संशोधन गर्दै भारत बाहेकका मुलुकमा पढ्न जाने वा अध्ययनरत विद्यार्थीका लागि सटही सुविधा थप खुकुलो बनाएको हो ।
नयाँ व्यवस्था अनुसार अब विदेशका कलेज वा विश्वविद्यालयमा खातामा देखाउनुपर्ने विदेशी मुद्रा तोकिएभन्दा ५ प्रतिशत धेरै राख्न पाइनेछ । विद्यार्थीको भिसा प्राप्ति, नवीकरण तथा निर्वाह खर्चका लागि सम्बन्धित देशको राजदूतावास वा सरकारी निकायले तोकेको रकममा विनिमय दरको उतारचढावका कारण थप खर्च लाग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले यो सहुलियत दिएको हो । राष्ट्र बैंकको सूचीमा नरहेका स्थानीय मुद्रामा रकम देखाउनुपर्ने प्रावधान भएमा पनि आवश्यक कागजातका आधारमा बढीमा ५ प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रा सटही गरी पठाउन सकिनेछ ।
हाल विद्यार्थीहरूले निर्वाह खर्चका रूपमा २ हजार ५ सय देखि ५ हजार अमेरिकी डलरसम्मको सटही सुविधा पाउँदै आएका छन् । जुन रकम नेपालबाट अभिभावकले पठाउन सक्छन् । अन्य शुल्कको हकमा भने पुष्टि हुने कागजातका आधारमा अनुमति दिइने राष्ट्र बैंकले जनाएको छ । यसैगरी, राष्ट्र बैंकले कागजात प्रमाणीकरणमा पनि कानुनी सहजता प्रदान गरेको छ । यसअघि सक्कल कागजात नै बुझाउनुपर्ने व्यवस्था रहेकामा अब विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएका डिजिटल कागजातलाई समेत बैंकहरूले मान्यता दिनुपर्ने व्यवस्था गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस