चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामै नेपालमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) १९ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको हो।
केन्द्रीय बैंकका अनुसार वैशाख महिनामा मात्र २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन एकै महिनामा प्राप्त भएको हालसम्मकै उच्च रकम हो। गत आर्थिक वर्षको सोही अवधिमा अर्थात् वैशाख महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो।
अमेरिकी डलरमा पनि रेमिट्यान्स ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड डलर पुगेको छ । गत आवको सोही अवधिमा अमेरीकी डलरमा रेमिट्यान्स १०.६ प्रतिशतले बढेको थियो । चालु आवको वैशाखसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ। गत आवको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रुपैयाँ रहेको थियो ।
रेमिट्यान्समा उच्च वृद्धि देखिए पनि वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने केही गिरावट आएको छ । चालू आवको वैशाखसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५१० रहेको रहेका छ । गत आवको १० महिनामा ४ लाख ५ हजार ६१० जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । तर, पुनः श्रम स्वीकृति लिनेको संख्यामा भने वृद्धि भएको छ। वैशाखसम्म ३ लाख २६ हजार ३६४ नेपालीले पुनः श्रम स्वीकृति लिएका छन्। गत आवको अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक राजगारीका लागि पुन श्रम स्वीकृति लिने नेपाली २ लाख ८० हजार ३१४ जना रहेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस