अर्थ संसार, काठमाडौं–मुलुकभरका २३ हजार महिलालाई हस्तकलाको सीप सिकाइ सकेकी युनिक क्रिस्टल हस्तकला उद्योगकी संचालिका कमला सुवेदीले यस बर्षको विशेष उद्यमी पुरस्कार प्राप्त गरेकी छन् ।
घरेलु तथा साना उद्योग विकास समितिले राजधानीको भृकुटी मण्डपमा आयोजना गरेको राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रममा उनले २० हजार रुपैयाँ राशीको उक्त पुरस्कार पाएकी हुन् ।
उक्त पुरस्कार नेपाल चेम्बर अफ कमर्शले प्रायोजन गरेको थियो ।यही चैत ९ देखि १४ गतेसम्म भएको प्रदर्शनीमा हेटौंमा रहेको उनको सुवेदीको युनिक क्रिस्टल हस्तकला उद्योगले आफ्ना वस्तु प्रदर्शन गरेको थियो । उनलाई उद्योग सचिव यमकुमारी खतिवडाले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिन् ।
उनले यसअघि सन् २०१४ मा सरकारले प्रदान गर्ने उत्कृष्ट उद्यमी पुरस्कारसमेत यही ब्यवसायबाट प्राप्त गरिसकेकी छन् ।उनको उद्योगले बिशेष गरी महिलाले श्रृंगार गर्न प्रयोग गर्ने सामानसामान उत्पादन गर्दै आइरेहको छ । चुरा, टप, विभिन्न प्रकारका माला, पर्सलगायतका सामान उनी उत्पादन गर्छिन् ।
उनी क्रिस्टलका सामान बनाउने बरिष्ठ प्रशिक्षक पनि हुन् । उनले बंगलादेशमा क्रिस्टलका गहनालगायतका सामग्री बनाउने सीप सिकेर आएपछि युवा स्वरोजगार कोषबाट आर्थिक सहयोग लिएर सुरुमा ५० जना महिलालाई क्रिष्टल हस्तकलाका सामान बनाउने तालिम दिएकी थिइन् ।
त्यसपछि तालिमको धेरै ठाउँबाट माग बढ्दै गएर उनले अहिलेसम्म नेपालका ६० भन्दा बढी जिल्लामा महिलालाई क्रिस्टलका सामग्री बनाउने तालिम दिइसकेकी छन् ।
आगामी एक बर्षका लागि उनी प्रशिक्षकका रुपमा बुक भइसकेकी छन् । उनलाई तालिमका लागि प्रशिक्षकका रुपमा बोलाउने हो भने आयोजकले एक बर्षपछिको मिति खोज्नु पर्छ ।उनलाई यतिखेर भ्याइ नभ्याइ छ । उनी एक्लैले अहिलेसम्म हस्तकलाको ब्यवसाय गर्ने सोच बनाएका २३ हजार जनालाई सीपमूलक तालिम दिइसकेकी छन् ।
उनले अघिल्लो महिनामात्र बुटलवलमा ७ दिने, सल्यानमा दुई वटा २१ दिने र ७ दिने तालिम दिएर फर्किन् । त्यसपछि राजधानीको नागार्जुन नगरपालिकामा क्रिस्टलकै ७ दिने तालिम दिन भ्याइन् । त्यही तालिम सकिने वित्तिकै उनी ताप्लेजुङ पुगिन् । त्यहाँ १५ दिने तालिम सकेर फर्कन नपाउँदै उनलाई रसुवा जाने हतारो थियो । रसुवाको धुन्चेमा १० दिने र कालिकास्थानमा ७ दिने गरी दुई वटा तालिम सकेर फर्कनासाथ उनलाई राजधानीको तारकेश्वरमा त्यस्तै तालिम संचालन गर्न जान हतार थियो ।
राजधानीमा जारी घरेलु प्रदर्शनी सकिएर पुरस्कार बुझिनसक्दै उनलाई गुल्मीमा संचालित तालिममा प्रशिक्षकका रुपमा जान हतारो थियो । उनी रात्री बस चढेर गुल्मी पुगिसकेकी छन् ।यसपछि उनको समय तालिकामा इलाम, विराटनगर, चितवन, बुटवल, गुल्मी, काठमाडौंमा तीन वटा तालिम निश्चित भइसकेका छन् । पछिल्लो २ महिनामा उनले मुस्किलले ४/५ दिन घरमा बस्न भ्याइन् ।
थोरै समयमा हस्तकलामा फ्ड्को मारेकी ब्यवसायी हुन् सुवेदी । उनको हेटौंडामा युनिक क्रिस्टल हस्तकला उद्योग र काठमाडौंमा सृजनशील क्रिष्टल हस्तकला उद्योग संचालनमा छन् । सुरुमा १० हजार रुपैयाँ लगानी गरेर स्थापना गरिएको उनको उद्योगको आकार विस्तार हुँदैछ । उद्योगमा सिजनअनुसार कामदारलाई रोगगारी दिएको उनी बताउँछिन् । उनलाई उद्योग संचालन गर्ने फुर्सद भने छैन ।
उनी गृहिणीहरुलाई क्रिस्टलबाट विभिन्न सामग्री उत्पादन गर्ने तालिम दिन्छिन् । तिनै महिलालाई कच्चा पदार्थ दिएर सामान बनाउन लगाउँछिन् । ती महिलाले बनाएको सामान उनको उद्योगले खरिद पनि गरिदिन्छ ।
मुलुकका सबै जिल्लाका घरेलु तथा साना उद्योग समितिले महिलालाई आत्म निर्भर बनाउन संचालन गर्ने तालिममा प्रशिक्षकका रुपमा निम्त्याउन पहिलो रोजाइमा पर्छिन उनी ।
उनी मुलुकका विभिन्न भाग र विदेशमा समेत हुने मेला महोत्सवमा आफ्ना उत्पादनहरुको प्रदर्शन गर्न पनि पुग्छिन् ।उनले कतिपय तालिममा प्रशिक्षक बन्ने अबसरलाई इन्कार गर्नु परेको छ । ‘एकै पटक धेरै तालिममा अफर आउँछन्,’ उनी भन्छिन्, ‘एक्लो ज्यानले कसरी भ्याउनु रु’ कतिपय तालिम आयोजकले उनको अनुकूल समयकै लागि भनेर सार्छन् ।
उनी महिलाहरुलाई सीपमूलक तालिम दिन नेपालका अधिकांश जिल्लामा पुगिसकेकी छन् । सिलाईको कामबाट उनले व्यवसायमा हात हालेकी हुन् । उनले सन् २०११ मा बंगलादेश जाने अवसर प्राप्त गरिन् । त्यहाँको घुम्ने क्रममा उनले क्रिष्टलबाट बनेका हस्तकलाका सामानहरु प्रशस्त देखिन् । क्रिष्टलबाट सामान बनाउने तरिका उनले त्यहीँ सिकिन् । नेपाल फर्केर उनले यसैलाई ब्यवसाय बनाइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस