२०७८ सालको चैत १० गते नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) ले बीमा कम्पनीहरुले चुक्ता पुँजी वृद्धि गर्नु पर्ने निर्णय गर्यो । प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड हुनु पर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय गरेको पाँच वर्ष पुग्न लाग्यो । सुरुमा प्राधिकरणले पुँजी वृद्धिका लागि मर्जमा जान सकिने विकल्प अघि सारेको थियो । जसका कारण धेरै बीमा कम्पनीहरु मर्जमा गए । बीमा कम्पनीको संख्या पनि कम भयो । मर्जमा जाँदा पनि केही कम्पनीको आवश्यक चुक्ता पुँजी पुग्न सकेको छैन । अझै पनि ठूला २८ वटा बीमा कम्पनीमध्ये ६ वटाको चुक्ता पुँजी पुग्न सकेको छैन । जसमध्ये २ जीवन बीमा कम्पनी र चार वटा निर्जीवन बीमा कम्पनी रहेका छन् ।
हालसम्म पनि आवश्यक चुक्ता पुँजी पुर्याउन नसक्ने जीवन बीमा कम्पनीमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी र एशियन लाइफ रहेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीको चुक्ता पुँजी जम्मा १८ करोड १० लाख २० हजार रुपैयाँ मात्रै छ । त्यस्तै एशियान लाइफको चुक्ता पुँजी भने ४ अर्ब ८२ करोड ७७ लाख ६६ हजार ५५५ रुपैयाँ रहेको छ । यी दुई वटा कम्पनी बाहेक अन्य १२ वटा जीवन बीमा कम्पनीहरुले भने चुक्ता पुँजी पुर्याएका छन् ।

यता निर्जीवन बीमा कम्पनी तर्फ पनि सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी, युनाइटेड अजोड, प्रभु र सानिमा जिआइसी इन्स्योरेन्स रहेका छन् । यी कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड भन्दा कम छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी जम्मा २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ मात्रै रहेको छ । त्यस्तै युनाइटेड अजोडको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सको १ अर्ब ७० करोड ९ लाख ५५ हजा ९२१ रुपैयाँ र सानिमा जिआइसीको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

बीमा कम्पनीहरुलाई पुँजी वृद्धिका लागि निरन्तर समय थप गर्दै आएको नेपाल बीमा प्राधिकरणले अहिले भने कुनै निश्चित समयमा पुँजी पु¥याउनु पर्ने समय तोकेको छैन् । अहिले चुक्ता पुँजी पुर्याउन नसकेका निजी क्षेत्रको लगानी रहेका बीमा कम्पनीहरु हकप्रद जारी गर्न नपाएका कारण पुँजी अपुग भएको बताइ रहेका छन् भने सरकारी स्वामित्वका कम्पनीहरुको अवस्था भने लथालिङग नै रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस