Like us!
Follow us!
Connect us!
Watch us!

आज एमाले–माओवादी एकता

विहीबार, ०३ जेठ २०७५, ०७ : ५५ मा प्रकाशित

आज एमाले–माओवादी एकता

अर्थ संसार, काठमाडौँ–नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने भएको छ । दुई दलका अध्यक्षबीच बुधबार भएको छलफलपछि एकता हुने निश्चित भएको हो ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलले बिहीबार पार्टी एकता घोषणा हुने निश्चित भएको माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी गराउनुभयो ।

एकताको विषयमा दुईजना अध्यक्षले गर्नुभएको सहमतिलाई दुई दलको बैठकले अनुमोदन गरेको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको छलफललाई माओवादी केन्द्रको बैठकले अनुमोदन गरेको सो पार्टीका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बिहीबार बिहान १० बजे एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको निर्णय अनुमोदन गरिने बताउँदै उहाँले समितिको बैठकपछि अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर एकता घोषणा गर्ने जानकारी गराउनुभयो ।

त्यसअघि नै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइने निर्णय पनि गरिएको माओवादी केन्द्रका नेता रामचन्द्र झाले जानकारी गराउनुभयो । दल दर्ता गराउन जानुअघि नै माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बस्नेछ ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने सहमति भएको छ । दुवै दलले २०७४ असोज १७ देखि वाम गठबन्धन बनाएर एकता प्रक्रिया सुरु गरेका थिए । २०७४ असोज १७ गते वाम गठबन्धन घोषणा गर्दै माओवादी केन्द्र र एमालेले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गरी एउटै घोषणापत्रबाट चुनाव लडेका थिए ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच पटकपटक एक्लाएक्लै वार्ता भएका थिए । फागुन ७ गते सातबुँदे सम्झौता गरी पार्टी एकता गर्ने सहमति भएको थियो । एकता संयोजन समितिले पार्टीको विधान तथा राजनीतिक प्रतिवेदन तयार गर्न एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजकत्वमा गठन भएको दुई कार्यदलले चैत २० गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले बुझाएको प्रतिवेदनमा सहमति भए पनि कार्यसमितमा कति सदस्य कुन दलबाट राख्ने, चुनाव चिह्न के हुने, विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने विषयमा मतान्तर भएको थियो ।

माओवादी केन्द्रले केन्द्रीय सदस्यमा बराबरी सदस्य हुनुपर्ने माग अघि सा¥यो तर एमाले त्यसलाई मान्न तयार भएन । त्यस्तै चुनाव चिह्न सूर्य राख्ने एमालेको दाबीलाई माओवादी केन्द्रले अस्वीकार गर्दै आएको थियो । पार्टी विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने माओवादी केन्द्रको अडानलाई एमालेले मानेको थिएन । दुवै अध्यक्षले एकताका लागि निरन्तर गरेको छलफलबाट अन्ततः पार्टी एकीकरण गर्ने सहमति भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको