Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको कथन : ढुकुटी रित्तो भएकाले वृद्धभक्ता बढेन, आगामी वर्ष बढ्छ

शुक्रबार, १५ असार २०७५, ११ : ०४ मा प्रकाशित

प्रधानमन्त्रीको कथन : ढुकुटी रित्तो भएकाले वृद्धभक्ता बढेन, आगामी वर्ष बढ्छ

अर्थ संसार,काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिसहित समाजवादको आधार तयार पार्ने आफूहरूको पूर्वप्रतिबद्धतालाई व्यावहारिक रूपमा कार्यान्वयन गरेरै छाडिने दृढता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले  भन्नुभयो, “नेपाली जनताले कम्युनिष्ट आन्दोलनले मात्रै आर्थिक समृद्धि दिन सक्छ, समाजवादको आधार तयार पार्न सक्छ भनेर जिम्मा दिएका छन् । त्यो कार्यभार हामी पूरा गर्छौं ।”

वर्तमानको आवश्यकता नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको विकास, राष्ट्रिय एकता, सामाजिक न्याय, सुशासन र समृद्धिको भएकाले त्यसलाई कार्यान्वयन गरिने प्रधानमन्त्रीको भनाइ थियो । समाजवादलाई कोही कसैले रोक्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “समाजवाद आउँछ, आउँछ, अब कोही कसैले रोक्न सक्दैन । जनताका सामु गरेका प्रतिबद्धता र जिम्मेवारी शालीनतापूर्वक हामी पूरा गर्छौं ।”

नेकपाको सरकारलाई केही राजनीतिक शक्तिले गलत व्याख्या गरेको र अधिनायकवादको हल्ला गरेकामा आपत्ति प्रकट गर्दै उहाँले भन्नुभयो, “हामीले कसैले ल्याइदिएको लोकतन्त्रको उपयोग गरिरहेका छैनौँ । आधा शताब्दीसम्म आफैँले लडेर, दुःख कष्ट सहेर, निर्वासन र भूमिगत बसेर ल्याएको राजनीतिक व्यवस्था र प्रणालीको उपयोग गरिरहेका छौँ । कोही कसैले चित्त नदुखाए हुन्छ ।”

प्रधानमन्त्री ओलीले पछिल्लो समयमा छिमेकी देशसँग समानताका आधारमा सम्बन्ध विकास गरिएको, पारस्परिक लाभलाई हेरेर व्यवहार गरिएको र नेपालको आफ्नो स्वतन्त्र पहिचान स्थापित भएको स्पष्ट पार्नुभयो ।

बाह्य हस्तक्षेप र प्रभावको अन्त्य भएको तथा छिमेकीका चासो र चिन्तालाई सम्बोधन गरिएको उल्लेख गर्दै उहाँले नेपालको विकास र समृद्धिमा छिमेकीलाई पनि साथमा लिएर जाने वातावरण बनेको छ भन्नुभयो ।

नेपाललाई एकाध वर्षमा विकासको मार्गमा अगाडि बढाउन सकिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “दूरदर्शी नेतृत्व क्रियाशील छ । नेकपाले दृष्टिकोणसहित नेतृत्व गरेको छ । केन्द्र, संघ र स्थानीय तहमा दुई तिहाइभन्दा बढीको जनमत छ । सही बाटो पहिल्याएर अगाडि बढेका छौँ । त्यस कारण हामी सफल हुन्छौँ ।”

ढुकुटी रित्तो भएकाले वृद्ध भत्ता बढेन

प्रधानमन्त्रीले मुलुकको ढुुकुटी रित्तो भएका कारण आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको स्पष्ट गर्नुभयो । आगामी वर्षदेखि सामाजिक सुरक्षा भत्ता र अन्य सुविधा वृद्धि गर्दै लैजाने प्रधानमन्त्रीको धारणा थियो ।

भानुजयन्तीका अवसरमा यही असार २९–३१ गते नेपालमा नेपाल, भारत र डायस्पोराका स्रष्टाहरू सम्मिलित ‘हिमवत्खण्ड कलासाहित्य सम्मिलन’ हुन लागेको जानकारी दिँदै उहाँले चन्द्रागिरिमा हुने कलासाहित्य कार्यशालामा आफू पनि सहभागी भई कविता रच्ने जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक मूल्यलाई स्थापित गर्दै नेपाली मौलिकतासहितको समाजवाद निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेकपा नेतृत्वको वर्तमान सरकारलाई असफल हुने कुनै छुट नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “नेपाली जनताका सपना पूरा भएनन् । समाजवादको आधार तयार भएन भने त्यसबाट नेपाली कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खान्छ । देश नै बर्बाद हुन्छ । सरकारले हरहालतमा पनि जनतालाई सेवा दिनुपर्छ ।

सबै प्रकारको विभेदको अन्त्य गरेर २१औँ शताब्दीअनुकूल समाजवाद स्थापनाका लागि नेतृत्वले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले सबै वर्ग, क्षेत्र तहलाई समान अधिकारका साथ आर्थिक रूपमा सम्पन्न बनाउन सके मात्रै समाजवाद प्राप्त गर्न सकिने बताउनुभयो । सामाजिक न्याय, विभेदको अन्त्य, गरिबी उन्मूलनमा विशेष जोड दिन सबैको साथ र सहयोग रहनुपर्ने अध्यक्ष यादवको भनाइ थियो ।

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले धेरै पछि बलियो सरकार बनेकाले राम्रा काममा सबैले साथ दिनुपर्ने बताउनुभयो । कोइरालाले भन्नुभयो, “सरकारले पनि सबैलाई साथमा लिएर उनीहरूको विचारको समेत सम्मान गर्दै एकता, सहकार्यको मार्गमा अगाडि बढ्नुपर्छ । त्यसो भए नेपाली जनताले खोजेको समृद्धि प्राप्त हुन सक्छ ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको