Like us!
Follow us!
Connect us!
Watch us!

दशैभरी अविरल वर्षा : तराईमा डुबान,पहाडमा पहिरो

सोमबार, १८ असार २०७५, १२ : ५४ मा प्रकाशित

दशैभरी अविरल वर्षा : तराईमा डुबान,पहाडमा पहिरो

अर्थ संसार, काठमाडौं– अविरल वर्षाले यतिखेर तराईमा डुबान र पहाडमा पहिरो खस्दा देशैभरि जनजीवन अस्तव्यस्त बनेको छ।

गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ।

नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समेत पानी जमेकाले सवारीसाधन आगमनमा समस्या भइरहेको हो। अविरल वर्षाका कारण जिल्ला मिर्चैयाको साथै गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ।

त्यस्तै आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ।

वीरगञ्ज महानगरपालिकाको आधादर्जन वडा डुबानमा

पर्सा-दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन् ।

महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा, कुम्हाल टोल, प्रगतिनगर लगायतका वडाका बस्ती डुबानमा परेका हुन् ।

वर्षाको पानी घरमै पसेपछि सर्वसाधारणलाई खाना बनाउनसमेत समस्या भएको वीरगञ्ज महानगरपालिका–११ श्रीपुर निवासी मनोज महतोले बताउनुभयो । उहाँले महानगरपालिकाले वर्षायाम हुनु अगाबै नालीको सफाइ नगरेकाले पानी घर÷घरमा पसेर समस्या भोग्नुपरेको गुनासो गर्नुभयो ।

सडकको पानी जम्मा भएकाले विद्यार्थीलगायत सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । नगरक्षेत्रकोे डुबान केही बेरका लागि मात्र भएकाले नगरवासी आत्तिनु नपर्ने महानगरपालिकाका वरिष्ठ अधिकृत सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले डुबान क्षेत्रमा देखिएको समस्या समाधान गर्न बिहानैदेखि एक्साभेटरसहित कर्मचारी परिचालन गरिएकाले समस्या समाधान हुने बताउनुभयो ।एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत नौ आउटलेट ९निकासी हुने ठूला नाला० मध्ये ६ वटाको निर्माण भइसकेकाले जम्मा भएको पानी वर्षा बन्द भएको केही वेरमै बगेर जाने अधिकृत श्रेष्ठको भनाइ थियो ।

पानीको अभाबमा धानको रोपाइँ मात्र २ प्रतिशत भएको यस जिल्लामा दुई दिनदेखि परेको आकासे पानीले रोपाइँ हुने वातावरण बन्दै गएपछि यहाँका किसान हर्षित भएका छन् ।  रासस

निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ। बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ।

सरकारले बबई र पश्चिम राप्ती जलाधारका प्रायजसो स्थानमा भारी वर्षा भइराखेकोले तटिय र डुबान भइरहने क्षेत्रमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैगरी, दुई दिनदेखिको अविरल वर्षाले दाङको सामान्य जनजिवन प्रभावित भएको छ। बाढीका कारण तुलसीपुर– घोराही– लमही सडक खण्डमा पर्ने खहर खोलाहरुमा पानीको बहाव ह्वात्तै बढेपछि साना खालका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्।

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बर्दियामा डुबानमा परी केही परिवार विस्थापित भएको खबर आए पनि संख्या एकिन नभएको गृहले जनाएको छ। त्यस्तै डुबानका कारण जिल्लाबाट कुनै पनि सवारी साधन चल्न सकेका छैनन्।

पर्साको वीरगन्ज महानगरपालिका पनि डुबान भएको छ। डुबानले त्यहाँबाट कुनै पनि सवारी चल्न सकेका छैनन्।

कालिकोटमा पहिरो आएपछि कर्णाली राजमार्ग पनि अवरूद्ध  भएको छ। बिहान पहिरोले अवरूद्ध मुग्लिन-नारायणगढ सडक भने एकतर्फी सञ्चालन भएको छ।

बाँकेमा बाढीले बगाउँदा एकजना बेपत्ता

 बाँके - अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको छन् ।

बुढाको खोजी भइरहेको छ । आइतबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका छन् ।

पुल भत्कँदा हुलाकी सडक अबरुद्ध

चितवन–  आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो ।

पुल भत्किँएसँगै भरतपुर माडी–ठोरी खण्डमा सवारी सञ्चालन हुन सकेका छैनन् । इलाका प्रहरी कार्यालयसँगै रहेको सो पुल बिहान ९ बजे भत्किएको प्रहरीले जनाएको छ । माडी क्षेत्रमा वर्षा नरोकिएका कारण खोलामा पानीको बहाब उच्च भएको छ ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले माडी क्षेत्रमा रहेका खहरे खोला बढेपछि रिउ नदीको बहाव उच्च भएको बताउनुभयो । नदीमा पानीको बहाव बढेसँगै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आह्वान गरिएको उहाँले जानकारी दिनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको