विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली
न्यूयोर्क . प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ उक्त समारोहमा सरिक हुनुभएको हो ।
संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन यहाँ आइपुग्नुभएका विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा मङ्गलबार राष्ट्र सङ्घको मुख्यालयमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले स्वागत समारोहको आयोजना गर्नुभएको हो ।
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको समेत उपस्थिति रहेको थियो ।
मङ्गलबार नै संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनको छलफल आरम्भ भएको छ । प्रधानमन्त्री ओलीले यही असोज ११ गते अपराह्न महासभालाई सम्बोधन गर्नुहुनेछ । अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्रसङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस