अर्थ संसार, काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)ले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैधरुपमा सोही देशमै रहन वा स्वदेश फर्कन पाउने व्यवस्था एक महीनाका लागि थप गरेको छ ।
यसअघि युएई सरकारले गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १४ गतेसम्म लागू हुने गरी तीनमहीने आममाफीको घोषणा गरेको थियो । उक्त आममाफीको समयावधि आज सकिँदै थियो ।
आबुधाबीस्थित नेपाली दूतावासले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न पुनःआग्रह गरेको छ । आममाफीको समयावधि थप भएसँगै आगामी मङ्सिर १५ गतेसम्म उक्त कार्यक्रमबाट लाभ लिन सकिने दूतावासले जनाएको छ ।
प्रवेशाज्ञाको अवधि सकिएर म्यादभन्दा बढी बसेका र कम्पनी छाडेर भागेका व्यक्तिहरू आममाफीसम्बन्धी व्यवस्थाबाट लाभान्वित हुनसक्ने दूतावासले जनाएको छ । आममाफी व्यवस्थाअनुसार युएइको अध्यागमनको नियमानुसार लाग्ने जरिवाना तथा शुल्कसमेत मिनाहा हुने र भविश्यमा युएई आउँदा हुने सम्भावित प्रतिबन्धबाट समेत छुटकारा पाइनेछ ।
साथै वैधरुपमै युएईमै बस्न चाहनेले काम खोज्न युएई सरकारले तोकेको ५०० दिराम (करीब रु १५ हजार) शुल्क तिरी छ महीनाका लागि अस्थायी प्रवेशाज्ञा प्राप्त गर्न सक्ने दूतावासले जनाएको छ । नेपाल फर्कन चाहने राहदानी नभएका नेपालीलाई दूतावासले ट्राभल डकुमेन्ट बनाउन सहयोग गर्नेछ ।
त्यस्तै युएईमै काम खोजेर बस्न चाहनेका लागि राहदानी आवेदन गर्न नेपाली नागरिकता, पुरानो राहदानीको प्रतिलिपि वा प्रहरी प्रतिवेदनसहित सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस