अर्थ संसार, काठमाडौँ– नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११३९ ले मङ्सिर २ गते आइतबार (कछलाथ्व दशमी) का दिन शंखधर दिवस भव्य रुपमा मनाउने भएको छ ।
साथै, नेपाल संवत आन्दोलनका प्रणेता, आदिवासी जनजाति आन्दोलनका अगुवा, वरिष्ठ मानवअधिकारवादी नेता दिवङ्गत पद्मरत्न तुलाधरको श्रद्धाञ्जलि सभा कार्यक्रम गर्ने तथा न्हूदँ नयाँ वर्षको उपलक्ष्यमा पुस्तक प्रदर्शनीका साथ सांस्कृतिक कार्यक्रमको पनि आयोजना गर्ने निर्णय समितिको आज बसेको बैठकले गरेको छ ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारबाट नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनको सम्झनामा प्रत्येक वर्ष कछलाथ्व दशमीका दिनलाई शंखधर दिवसको रुपमा मनाइँदै आइएको छ ।
समारोह समितिले शंखधर दिवस यस वर्ष भव्य रुपमा मनाउन काठमाडौँको बसन्तपुरमा मङ्सिर २ गते दशमीका दिन बिहान ७ बजे सम्पूर्ण जनसमुदायलाई उपस्थितिका लागि आह्वान गरेको छ । र्याली बसन्तपुरबाट प्याफल, नरदेवी, त्यंगः, थाय्मदु, असन, बालकुमारी, जनबहाः, वंघः हुँदै मरु–काष्ठमण्डप, चिकंमुगल, लगन, ब्रम्हत्वाः, वन्दे, ह्यूमत, क्वहिति, भीमसेनस्थान हुँदै लखुतीर्थमा पुगेर शंखधर साख्वाःको तस्वीरमा माल्यार्पण र सभाको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
सांस्कृतिक र्यालीसहित आयोजना हुने शंखधर दिवस भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिलाई आइतबारको बैठकले जिम्मेवारी तोकिदिएको छ ।
यस्तै, समारोह समितिको बैठकले नेपाल संवत आन्दोलनका प्रणेता बहुआयामिक व्यक्ति दिवङ्गत पद्मरत्नको १३ दिनको पुण्यतिथिमा कात्तिक ३० गते बिहान बसन्तपुरमा श्रद्धाञ्जलि सभाको आयोजना गर्ने भएको छ । समितिले श्रद्धाञ्जलि सभाका निम्ति कात्तिक २६ गते सोमबार विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुलाई बैठकमा डाकेको छ ।
नेपाल संवत नयाँ वर्षको उपलक्ष्यमा प्रकाशित सङ्ग्रह, पुस्तक, सिडी–डिभिडीका साथै नेपालभाषाका विभिन्न पुस्तकको प्रदर्शन, खाना स्टलदेखि सांस्कृतिक कार्यक्रम पनि गरिने भएको छ । ती कार्यक्रम आउँदो मङ्सिर ८ गते शनिबार काठमाडौँको थँहितिमा दिनभर गरिने समारोह समितिले जानकारी दिएको छ ।
गत कात्तिक १८ गते नेपाल संवत आन्दोलनका प्रणेता पद्मरत्न दिवङ्गत हुनुभएकाले कात्तिक २२ गतेको भिंतुना र्याली तथा भिंतुना सभा स्थगन गरिएको थियो । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस