अर्थ संसार, काठमाडौँ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको आर्थिक तथा भौतिक विकासमा चीनको महत्वपूर्ण सहयोग रहेको बताउनुभएको छ ।
आज राजधानीमा आयोजित ‘नेपाली पर्यटन व्यवसायीका लागि तेस्रो चिनीयाँ भाषा तालीम समापन’ कार्यक्रममा उहाँले चीनले भाषा र सांस्कृतिक क्षेत्रमा समेत सहकार्य गर्न इच्छुक रहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि चिनीयाँ राजदूत यु होङले नेपाल र चीन प्राचीन कालदेखि एक असल मित्र रहँदै आएको उल्लेख गर्नुहुँदै नेपालको विकास र समृद्धिमा चीनको सधैँ सहयोग रहने बताउनुभयो । उहाँले सन् २०१८ नेपाल र चीनका लागि महत्वपूर्ण वर्ष भएको उल्लेख गर्दै नेपाल विकास र समृद्धिको बाटोतर्फ उन्मुख भएकामा खुसी व्यक्त गर्नुभयो ।
राजदूत होङले नेपाल र चीन सीमा जोडिएको एक असल छिमेकी भएको नाताले पनि दुबै देशले एकअर्काको भाषा र संस्कृतिको आदानप्रदान कार्यलाई आगामी दिनमा थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा हरिश्चन्द्र शाहले विगतका वर्षमा पनि चिनीयाँ राजदूतावास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा चिनीयाँ भाषा शिक्षण कार्य हुँदै आएको जानकारी दिनुभयो । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस