अर्थ संसार, काठमाडौँ– लामो समय विवाद र प्राकृतिक प्रकोपका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् आजदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिई आयोजना पूर्णरुपमा सम्पन्न भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ–५ सिम्लेस्थित स्विचयार्डको कन्ट्रोल रुममा रहेको स्विच दबाएर आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गर्नुभयो । यो दिनको प्रतिक्षाका लागि प्राधिकरणले विगत दश वर्षदेखि अनवरत प्रयास गर्दै आएको थियो । आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत्गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् काठमाडौँको मातातीर्थस्थित सबस्टेशनमा जोडिएको छ ।
शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ । त्यसपछि उपकरण तथा सुरुङ, बाँधलगायतका संरचनाका पुनः परीक्षण गरिने प्राधिकरणले जनाएको छ । सो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन शुरु हुनेछ । आयोजनाको दोस्रो युनिट भने आगामी असारको दोस्रो साताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली थ्री ए सञ्चालनमा आएपछि कुलेखानी जलाशयको पानी जोगिने र भारतबाट आयात भइरहेको विद्युत् परिमाण घट्ने बताउनुभयो । विद्युत् बढी माग हुने काठमाडौँ उपत्यकाबाट नजिक रहेको र हिउँदमा समेत करीब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहनेछ ।
सो आयोजनाबाट उत्पादित विद्युत्ले उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्ने विश्वास लिइएको छ । कार्यकारी निर्देशक घिसिङका अनुसार त्रिशूली ३ ए पूर्णरुपमा सञ्चालनमा आएपछि आयोजनाबाट देशभर खपत हुने ऊर्जामा करीब आठ प्रतिशतको योगदान रहनेछ । त्यसबाट मुख्यरुपमा हिउँदको विद्युत् माग धान्न भारतबाट आयात हुने ऊर्जासमेत कम गर्न सकिनेछ ।
विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन शुरु गर्ने अवस्थामा पर्यायएको हो । आयोजनाले नै काठमाडौँको मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको समेत निर्माण गरेको छ । यसबाट त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पूर्वाधारसमेत तयार भएको छ ।
कूल अनुमानित लागत १२ करोड ५८ लाख अमेरिकी डलर रहेको आयोजना नेपाल सरकार, प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । इञ्जिनीयरिङ, खरीद र निर्माण ९इपिसी० ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चिनियाँ कम्पनी गेजुवासँग २०७६ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ठेक्का भने चाइना वाटर एण्ड इनर्जीले पाएको थियो ।
विसं २०७१ साल जेठ १७ गतेभित्र निर्माण सक्ने गरी गेजुवासँग ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका नराम्ररी प्रभावित भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस