पूर्वमन्त्री सुमना श्रेष्ठले सडकमा जथाभावी गाडी तेर्स्याएर अवरोध गर्ने कार्यलाई राज्यद्वारा नै संरक्षित ‘आसेपासे पोस्ने प्रवृत्ति’को संज्ञा दिँदै यसको कडा आलोचना गरेकी छन्। सोमबार फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले काठमाडौँका सडकदेखि सञ्चार माध्यमसम्म जथाभावी पार्किङ गरेर धम्क्याउने रणनीति अपनाइएको र यसले राज्य र जनताबीचको विश्वासलाई जबर्जस्ती कमजोर बनाउँदै लगेको बताएकी हुन्।
राज्यको माथिल्लो तहमा आसिन व्यक्तिहरूले अरूलाई ‘पाठ सिकाउने’ बहानामा गरिरहेको यस्तो बुलिङ (धम्क्याउने शैली) ले लोकतन्त्र र विधिको शासनमाथि नै गम्भीर प्रश्न उठाएको उनको निष्कर्ष छ। यसका साथै नेतृत्व तहमा बस्नेहरूले फरक मत राख्नेहरूलाई पेल्ने र दबाउने शैली अपनाएको भन्दै उनले आपत्ति समेत जनाएकी छन्।
उनले लेखेकी छन्, ‘हिजो हामीले जथाभावी पार्किङ गरिएका गाडीहरूबाट सास्ती भोग्यौँ। गाडीहरू पहिचान गर्न सजिलो छ, तर जसले सडकको बीचमा गाडी छाडे, उनीहरूले जे गरे पनि आफू पूर्ण रूपमा सुरक्षित रहेको महसुस गरे। यो नै क्रोनिजम (आसेपासे पोस्ने प्रवृत्ति) हो ।’
श्रेष्ठले नेतृत्वले सबैको सेवा गर्नुको साटो फरक सोच र कार्यशैली भएकाहरूमाथि बुलिङ गरिरहेको भन्दै आलोचना गरेकी छन्। शक्तिमा रहुन्जेल जे पनि गर्न सकिन्छ भन्ने अल्पकालीन सोचले दीर्घकालीन समृद्धिका योजनाहरू कहिल्यै सफल नहुने उनको दाबी छ। यसैगरी, जनता र सुरक्षाकर्मीबीच अविश्वास पैदा हुनु कसैको हितमा नभएको स्पष्ट पार्दै उनले स्थानीय सरकारपछि जनताको सबैभन्दा नजिकको प्रतिनिधि प्रहरी नै भएकाले यसमा प्रहरीलाई दोष दिन नहुने बताएकी छन्। राज्य र जनताबीच निरन्तर घर्षण भइरहँदा जनप्रतिनिधिहरूले पुलको काम गर्न नसकेकोमा गुनासो गर्दै उनले यस विषयमा सांसदहरूको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएकी छन्।
उनले लेखेकी छन्, ‘जसरी उद्योग फस्टाउन स्थिर बृहत् अर्थतन्त्र चाहिन्छ, त्यसरी नै स्थिर अर्थतन्त्रका लागि शान्ति सुरक्षा पहिलो आधार हो। हामीलाई यति छिटो पक्ष लिन बाध्य पारिन्छ कि हामी बिर्सन्छौँ- हाम्रो लडाइँ कहिल्यै बर्दीमा भएका सुरक्षाकर्मीसँग थिएन। यो लडाइँ सधैँ माथिल्लो तहमा बस्नेहरूसँग हो। हामी सधैँ आश्चर्यमा पर्छौँ, के उनीहरू साँच्चै जनप्रतिनिधि हुन् वा केवल पार्टी प्रतिनिधि ? कि उनीहरू राज्यसत्ताको पालो कुर्दै चुपचाप बसेका छन् ?’
सांसदहरूले सुरक्षाकर्मीलाई घातक नहुने हतियार खरिद गर्ने बजेट, उनीहरूको मानसिक स्वास्थ्य र गुनासो सुन्ने संयन्त्रका बारेमा कहिल्यै कुरा नउठाएको भन्दै उनले सुरक्षाकर्मीलाई केवल दमनकर्ता बन्न बाध्य पारिएको श्रेष्ठको टिप्पणी छ ।
उनको प्रश्न छ, ‘के तपाईंहरूले हामीलाई ठेगान लगाउनुपर्ने मानिसको रूपमा हेर्नुभन्दा अघि नेपालीको रूपमा देख्न सक्नुहुन्न ?’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस