Like us!
Follow us!
Connect us!
Watch us!

कोइलाचौर सबस्टेसन सञ्चालनमा

कमला भुसाल

बुधबार, १५ जेठ २०७६, १४ : ५६ मा प्रकाशित

कोइलाचौर सबस्टेसन सञ्चालनमा

अर्थ संसार,काठमाडौं- रोल्पाको कोइलाचौरमा निर्माण भएको ३३/११ केभी सबस्टेसन संचालनमा आएको छ । रोल्पा र सल्यानको विद्युत् आपूर्ति विश्वसनीय र गुणस्तरीय बनाउन निर्माण भएको कोइलाचौर सबस्टेसन मंगबारबाट संचालन (चार्ज) मा आएको हो । रोल्पा सिमेन्ट उद्योगले अब यसै सबस्टेसनबाट विद्युत् आपूर्ति पाउने नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज क्षेत्रीय कार्यालयका प्रमुख मनोजकुमार सिंहले जानकारी दिए ।

सिंहका अनुसार सबस्टेसनबाट तीन वटा ११ केभी फिडरमार्फत रोल्पाको त्रिवेणी गाउँपालिका, कोइलाचौरजुँगार, सिम्पानी, पाखापानी, जिनाबांग, बुढागाउँ र सल्यानको उत्तरपूर्वी भेगमा विद्युत् आपूर्ति गरिने छ । यसबाट करिब ३० हजार जनता लाभान्वित हुने उनले बताए । दाङको तुलसीपुरबाट करिब २० किलोमिटर ३३ केभी प्रसारण लाइनबाट कोइलाचौर सबस्टेसन विद्युत आपूर्ति गरिएको छ ।

प्राधिकरण र इष्ट इन्डिा/बाक्ष्बा इन्फ्राटेक जेभीबीच सबस्टेसन निर्माणका लागि ९ करोड ३८ लाख रुपैयाँमा आर्थिक वर्ष ०७१÷७२ मा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता ०७२ असारबाट कार्यान्वयनमा आएको थियो । 

प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रीड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ ।

चालु आर्थिक वर्षमा झापामा घैलाडुब्बा, सप्तरीको रुपनी, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शित्तलपाटी, जाजरकोटको कुदु, प्यूठानको दम्ती, वर्दियाको राजापुर, कैलालीको हसुलिया लगायतका सबस्टेसन संचालनमा आइसकेका छन् । 

चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले  एक वर्षमा १९ वटा ग्रीड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ । 

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको