Like us!
Follow us!
Connect us!
Watch us!

बाढीसँगै उद्धारका लागि सुरक्षाकर्मी परिचालित

अर्थ संसार

शुक्रबार, २७ असार २०७६, १८ : ०१ मा प्रकाशित

बाढीसँगै उद्धारका लागि सुरक्षाकर्मी परिचालित

अर्थ संसार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभएको छ ।

आज ट्वीट गर्दै उहाँले सम्भावित जोखिमबाट जोगाउनका लागि पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेकोसमेत जानकारी गराउनुभएको छ । उहाँले सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा डुबानको समस्या समाधान गर्न दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको जनाउनुभएको छ ।

प्रधानमन्त्रीले बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीमा परी छ जनाले ज्यान गुमाएको, सात जना बेपत्ता तथा ४०० भन्दा बढी घरमा क्षति पुगेको जानकारी दिनुभएको छ । बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

यसैबीच, मधेसी आयोगले अविरल वर्षाका कारण मधेश क्षेत्रमा भएको डुबान र यसबाट सिर्जित मानवीय सङ्कट समाधान गर्न सरोकारवाला निकायसमक्ष आग्रह गरेको छ ।

आयोगद्वारा आज जारी विज्ञप्तिमा स्थानीय समाजसेवी, सङ्घ संस्था, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, नेपाल रेडक्रस तथा अन्य सरोरकारवालाबीच समन्वय र सहकार्य गरी पीडितको तत्काल उद्धार, राहत र पुनःस्थापना कार्य प्रभावकारी बनाउन आग्रह गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको