Like us!
Follow us!
Connect us!
Watch us!

बोरिस जोनसन बेलायतको नयाँ प्रधानमन्त्री

मिलन खड्का

बुधबार, ०८ साउन २०७६, १० : ३३ मा प्रकाशित

बोरिस जोनसन बेलायतको नयाँ प्रधानमन्त्री

अर्थ संसार, लण्डन- बेलायतको राजधानी लण्डन शहरका पूर्व नगर प्रमुख तथा कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा विजय प्राप्त गर्नुभएको छ ।

विदेशमन्त्रीसमेत रहेका सोही पार्टीका नेता नेता जेरमी हन्टलाई पराजित गर्दै जोनसनले बेलायती प्रधानमन्त्रीका लागि आफूलाई योग्य सावित गर्नुभएको छ । 

जोनसनले नेता हन्टलाई झण्डै आधा मतान्तरले पछि पार्नुभएको बताइएको छ । कन्जर्भेटिभ पार्टीले प्रधानमन्त्री टरिजा मेको विकल्पमा नयाँ नेतृत्व छान्नका लागि भएको अन्तिम चरणको मतदानमा जोनसनलाई ९२ हजार १५३ मत परेको थियो भने हन्टलाई ४६ हजार ६५६ मत परेको कन्जर्भेटिभ पार्टीले जनाएको छ ।

जोनसनले बेलायती प्रधानमन्त्री टरिजा मेको स्थानमा बुधबार नै औपचारिक रूपमा जिम्मेवारी लिनुहुने बताइएको छ । 

नेता जोनसनले आफ्नो नेतृत्वमा बेलायत यूरोपेली यूनियनबाट बाहिरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

पार्टी नेतृत्वमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “दुईपटकसम्मको प्रयासपछि पनि सफल हुननसकेको ब्रेक्जिट प्रक्रियालाई आगामी अक्टोबर ३१ सम्ममा पूरा गरिनेछ ।”

जोनसन पार्टी नेतृत्वमा निर्वाचित भएसँगै उहाँलाई सामाजिक सञ्जालमार्फत विश्वभरीबाट बधाइ तथा कार्यकालको शुभकामना व्यक्त गरिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत वधाई दिँदै भन्नुभयो, “पार्टी नेताको निर्वाचनमा विजय गर्दै बेलायतको प्रधानमन्त्रीका लागि मार्ग तय गर्न सफल भएकोमा तपाईंलाई बधाई । आगामी दिनमा थप सफलता प्राप्त गर्नुहुनेछ ।”

त्यसैगरी उहाँलाई जर्मन चान्सलर एन्जेला मर्केल, यूरोपेली यूनियनका तर्फबाट ब्रेक्जिटका लागि मध्यस्थताकर्ता मिसेद बार्नियर, यूरोपेली आयोगका प्रमुख जाँ क्लाउडको तर्फबाट उहाँका प्रवक्तालगायतले जोनसनसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताउनुभएको छ । 

को हुन बोरिस जोनसन ?

नेता जोनसनको जन्म सन् १९६४ जुन १९ मा अमेरिकाको न्यूयोर्क शहरमा भएको थियो । 

सन् १९८३ मा एटन कलेजमा विद्यालयस्तरको शिक्षा प्राप्त गरी अक्सफोर्ड बालिओल कलेजबाट चारबर्ष पछि स्नातक पास गर्नुभएको थियो । सन् १९८७ देखि करिब दुई बर्ष द टाइम्स पत्रिकामा काम गर्नुभएको थियो । जोनसनले सन् १९८९ देखि १९९४ सम्म टेलिग्राफको युरोपेली संघको सम्वाददाताका रूपमा काम गर्नु भएको थियो । उहाँले सन् १९९९ देखि २००५ सम्म द स्पेक्टेटर नामक खबर पत्रिकामा काम गर्नुभयो तर सन् २००१ मा नै उहाँ लण्डन नजिकैको हेन्ली क्षेत्रबाट संसद सदस्य बन्नुभएको थियो । उहाँ सन् २००५ मा उक्त क्षेत्रबाट पुनः निर्वाचित हुनुभयो ।

सन् २००८ मा विपक्षी नेता केन लिभिङ्सटनलाई पराजित गर्दै लण्डनको नगर प्रमुख (मेयर) बन्नुभयो । उहाँ सन् २०१२ मा पनि लण्डनको मेयरका रूपमा निर्वाचित हुनुभएको थियो ।

सन् २०१५ मा अक्सब्रिज र साउथ रस्लीप क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्नुभयो भने सन् २०१७ मा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभयो ।

सन् २०१६ मा भएको ब्रेक्जिटको पक्षमा मतदान गरेका बेलायतीहरूलाई सक्रिय अभियानका साथ नेतृत्व गरेका उहाँले तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरूनको राजिनामा पछि भएको सरकारमा विदेशमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । तर प्रधानमन्त्री टरिजा मेका ब्रेक्जिटसम्बन्धी रणनीतिप्रति विमति राख्दै सन् २०१८ जुलाई ९ मा राजिनामा दिनुभयो ।

उहाँले सन् २०१९ को जुलाई २३ अर्थात् मङ्गलबार प्रधानमन्त्री मेको स्थानमा पार्टी नेताको जिम्मेवारीका लागि निर्वाचित बन्नुभएको छ । उहाँले बुधबार महारानी एलिजावेथ द्वितीयसँगको भेटघाट र औपचारिक समारोहबीच बेलायती प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने कार्यक्रम तय भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको