Like us!
Follow us!
Connect us!
Watch us!

यस कारण घट्यो नेपाल टेलिकमको नाफा

अर्थ संसार

शुक्रबार, १३ भदौ २०७६, ०८ : १४ मा प्रकाशित

यस कारण घट्यो नेपाल टेलिकमको नाफा

अर्थ संसार, काठमाडौं- नेपाल टेलिकमले आफ्नो आम्दानी र नाफा घट्नुमा मोबाइल सेवाको अनुमतिपत्र नवीकरण र ओभर दि टप (ओटीटी)सेवा कारक बताएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरणहरूमा कम्पनीका प्रमुख वित्तीय सूचकाङ्कहरूको अवस्थालाई प्रष्ट्याउन आवश्यक देखिएको भन्दै अनुमतिपत्र नवीकरण दस्तुर र कर समायोजनले गर्दा बढेको खर्च तथा प्रविधिगत रूपमा आएका चुनौतीका कारण आम्दानीमा कमी देखिएको बताएको हो ।

उक्त अवधिमा कम्पनीको मुनाफा घट्नुमा मोबाइल सेवाको अनुमतिपत्र नवीकरणवापत दोस्रो अवधि ९२०७१ र २०७६ सम्म० को दस्तुर रकम रू २० अर्बमध्ये पहिलो किस्ताको रू ४ अर्ब खर्च तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीको आयमा लाग्ने करको दर २५ प्रतिशतबाट ३० प्रतिशतमा वृद्धि हुनुको पनि अहम् भूमिका रहेको स्पष्ट पारेको छ ।

यसैगरी कम्पनीले ओटीटी सेवाहरूले गर्दा कम्पनीको आम्दानीमा कमी आएको र त्यसले पनि नाफामा प्रभाव पारेको बताएको छ । ओटीटीबाट विश्वभर भ्वाइसको आम्दानीमा नकारात्मक असर परेको र नेपाल टेलिकममा पनि त्यसको प्रतिरूप देखिएको कम्पनीको ठहर छ ।

कम्पनीले भनेको छ, ‘त्यसैगरी इन्टरनेट प्रविधिमा आधारित ओटीटी (जस्तै भाइबर, ह्वाट्सऐप आदि) सेवाहरूको व्यापक प्रयोगको कारण संसारभरका दूरसञ्चार सेवा प्रदायकहरूको अन्तरराष्ट्रिय सेवाको भ्वाइसतर्फको आम्दानीमा नकारात्मक असर परेको छ । संसारभर देखिएको यस्तो परिस्थितिबाट नेपाल टेलिकमलाई पनि असर पर्नु स्वाभाविक हो ।’

टेलिकमले संसारका अन्य सेवा प्रदायकहरूले जस्तै डाटा सेवा, भ्यालू एडेड सेवा तथा अन्य नवीन सेवाहरूको विकास र विस्तारमार्फत आय वृद्धि गरी अन्तरराष्ट्रिय सेवाको आयमा आएको कमी पूर्ति गर्नेतर्फ निरन्तर प्रयासरत रहेको र आगामी दिनहरूमा सो प्रयासलाई अझ तीब्र बनाइने जानकारी दिएको छ ।

कम्पनीले आगामी दिनमा परम्परागत अन्तरराष्ट्रिय कलको भ्वाइसतर्फको राजस्वमा निर्भरता कम गर्दै लगिनेसमेत स्पष्ट पारेको छ । आगामी दिनमा तारसहितको ब्रोडव्याण्ड सेवातर्फ एडीएसएल सेवाको रूपान्तरण गरी एफटीटीएच सेवा विस्तार गर्ने कार्यले हाल गति लिएकोले आगामी दिनहरूमा तारसहित सेवाको समष्टिगत राजस्व सुधार हुने अपेक्षा नेपाल टेलिकमले गरेको छ ।

यसका साथै नयाँ विस्तार हुने एफटीटीएच सेवामा परम्परागत टेलिफोन सेवाका साथसाथै इन्टरनेट एवम् टेलिभिजन सेवा पनि आइपी प्रविधिमार्फत प्रदान गरिने योजना रहेको हुँदा सोको विस्तारसँगै तारसहित सेवाको आम्दानी विविधिकरण तथा वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ ।

विभिन्न चुनौतीका कारण आम्दानीमा कमी देखिए पनि कम्पनीले अनुमतिपत्र दस्तुरसहित सरकारी कोषमा बुझाउने राजस्व अघिल्लो आर्थिक वर्षभन्दा करीब रू। ४ अर्बले बढेको टेलिकमको दाबी छ । यसका अतिरिक्त मोबाइल सेवाको फोरजी प्रविधिमा स्तरोन्नति तथा स्थानीय टेलिफोन सेवाको एफटीटीएच प्रविधिमा रूपान्तरणको कामले पनि यसै वर्षदेखि मात्र गति लिएकोले कम्पनीको आम्दानीमा सोको असर चालू आर्थिक वर्षदेखि मात्र देखिन थाल्ने बताएको छ ।

टेलिकमले फोरजी सेवाको विस्तारतर्फ हालसम्म कोर उपकरणको जडान तथा परीक्षण सम्पन्न भैसकेको र रेडियो नेटवर्कतर्फको काम देशभरि नै द्रुत गतिमा अगाडि बढिरहेको उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको