Like us!
Follow us!
Connect us!
Watch us!

प्रविधिको फड्को र संरक्षणको अभावले पुराना प्रविधिका साधन लोप हुँदै

dibesh

आइतबार, २९ भदौ २०७६, ११ : ४७ मा प्रकाशित

प्रविधिको फड्को र संरक्षणको अभावले पुराना प्रविधिका साधन लोप हुँदै

अर्थ संसार, काठमाडौ – परम्परागत प्रविधिका साधनको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ । बढ्दो आधुनिकताको प्रभावले पुराना सीप र दिमागको आधारमा निर्माण गरिएका परम्परागत प्रविधिका साधन सङ्कटमा परेका हुन् । मानिसको दैनिक जीवनयापन गर्नका लागि बनाइएका पुराना साधनको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको हो । 

रैथाने सीप र प्रविधिको प्रयोग गरी वर्षौँ पहिलेदेखि बनाइएका सामान लोप हुने अवस्थामा छन् । म्याग्दीका ग्रामीण भेगहरुमा अन्न पिसानी गरिँदै आएको पानीघट्ट लोप हुँदै जान थालेपछि यसको संरक्षणका लागि पहल गर्नुपर्ने आवश्यकता देखिएको छ । 

    हिमाली जिल्ला म्याग्दीमा पछिल्लो सयम गाउँ–गाउँसम्म नै बिजुली बल्न थालेपछि कुटानी पिसानीका लागि विद्युतीय मिल सञ्चालनमा आएपछि पानीघट्टको माग कम हुँदै गएको छ । पानीघट्टमा पिँधेको पीठोबाट बनेका रोटी, ढिँडोलगायतका परिकार स्वादिष्ट हुनुका साथै स्वास्थ्यका दृष्टिकोणले पनि बहुउपयोगी हुने स्थानीय बासिन्दा बताउँछन् । त्यसका साथै एक दशकअघिसम्म परम्परागत ग्रामीण जीवनको अभिन्न अङ्गजस्तै बनेको पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नुपर्ने आवश्यकता छ । 

पानीघट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर भए पनि यस्ता रैथाने सीपको संरक्षण गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । पुराना सीप र प्रविधिका साधनहरु पानीघट्ट, ढिकी, जाँतो, कोलजस्ता साधनको संरक्षण र प्रचारप्रसार गर्नका लागि सरकारी निकायबाट आवश्यक सहयोग गर्नुपर्ने बेनी नगरपालिका–५ चिप्लेटीका चुँधारा श्रीकृष्णलाल विश्वकर्माले बताउनुभयो ।     पुरानो प्रविधि र सीपसँग जोडिएको साधनलाई संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला यस्ता सम्पदा र प्रविधिको जर्गेनाका लागि स्थानीय सरकार पनि चनाखो हुनुपर्ने बताइएको छ । म्याग्दीको पश्चिमी क्षेत्रका गुर्जा, रुम, ओखरबोट, मराङलगायतका गाउँमा फाट्टफुट्ट रूपमा पानीघट्ट चल्ने गरेका छन् । पानीघट्टका साथै परम्परागत सीप र प्रविधिका ढिकी, जाँतो, कोलजस्ता पुराना प्रविधि हराउँदै जाँदा संरक्षणको अभावसमेत देखिएको छ । पुराना सीप तथा प्रविधिका साधनको संरक्षणका लागि नगरपालिकामार्फत आवश्यक पहल गरिने बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालको भनाइ छ । पुराना पुस्ताको सीप, मेहेनत र परिश्रम नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा परम्परागत कुटानी पिसानीका साधनको अस्तित्व नै सङ्कटमा परेको उहाँले बताउनुभयो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको