अर्थ संसार, काठमाडौ – वडादशैँ र तिहार नजिकिएसँगै बाँके जिल्लामा विभिन्न नाकाहरुबाट प्रशासनको आँखा छलेर अवैध धन्दा गर्ने समूह सक्रिय रूपमा लागिपरेका छन् । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अवैधरूपमा नेपाल भित्र्याईएका ठूलो मात्रामा खसीबोका नियन्त्रणमा लिएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको ट्रकमा राखिएका ६४ खसीबोका प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार नियमित जाँचका क्रममा ६४ खसीबोका नियन्त्रणमा लिइएको खसीको मूल्य रु पाँच लाख बराबरको रहेको बताउनुभयो ।
नियन्त्रणमा लिइएको खसी तथा ट्रक चालक कृष्णप्रसाद पराजुलीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको जानकारी दिनुभयो । यसरी अवैधरुपमा नेपाल ल्याइएको खसीबोका प्रहरीले दैनिकजसो नियन्त्रणमा लिने गरेको छ । करीब दुई साताअघि भारतबाट तस्करी गरेर ल्याउँदै गरेका रु तीन लाख २० हजार मूल्यका ३९ खसीबोका राप्तीसोनारी गाउँपालिका–४ बैजापुरबाट नियन्त्रणमा लिएको थियो । ––– रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस