Like us!
Follow us!
Connect us!
Watch us!

बेइजिङमा पनि मनाईयो संविधान दिवस : भारत, अमेरिका र स्विट्जरल्यान्ड द्वारा शुभकामना

dibesh

शुक्रबार, ०३ असोज २०७६, १० : १३ मा प्रकाशित

बेइजिङमा पनि मनाईयो संविधान दिवस : भारत, अमेरिका र स्विट्जरल्यान्ड द्वारा शुभकामना

अर्थ संसार, काठमाडौ – संविधान दिवसका अवसरमा चीनको राजधानी बेइजिङमा बिहीबार स्वागत समारोहको आयोजना गरियो । त्यस अवसरमा चिनियाँ विदेश मन्त्रालयका सचिव लाउ झाउचुई, उक्त मन्त्रालयका वरिष्ठ अधिकारी विद्वत् वर्ग, नेपालका मित्र र कामको सिलसिलामा चीनमा बसोवास गर्दै आएका नेपालीहरुको उपस्थिति रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । 

    अतिथिहरुको स्वागत गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले सम्मेलन जारी भएसँगै नेपाल आर्थिक र सामाजिक विकासको मार्गमा अग्रसर भएको बताउनुभयो । समारोहमा नेपाली संस्कृति र परम्परा झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना


संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 

    भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति स्वयम् र भारत तथा त्यहाँका जनताका तर्फबाट संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति कोविन्दले नेपाल र भारत साझा भूगोलले मात्र नभई इतिहास, सभ्यता, संस्कृति र जनता जनताबीचको सम्पर्कले जोडिएका बताउनुभएको छ । भारत र नेपालबीचको साझेदारी विभिन्न क्षेत्रमा निरन्तर विस्तार भइरहेको बताउँदै भारतका राष्ट्रपतिले सन्देशमा नेपालको समृद्धि र विकासका लागि अविच्छिन्न सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

    नेपालको भ्रमण गर्न आफूलाई राष्ट्रपति भण्डारीबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गर्दै उहाँले दुई देशीबीच उच्चस्तरमा आदानप्रदान हुने भ्रमणले एकअर्काप्रति हाम्रो साझेदारीका प्राथमिकता प्रतिबिम्बित हुन्छन् भन्नुभएको छ । दुवै देशलाई उपयुक्त हुने समयमा नेपालको भ्रमण गर्न आफू प्रतीक्षारत रहेको बताउँदै भारतका राष्ट्रपतिले सन्देशमा राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्यका साथै मित्रवत् नेपाली जनताको निरन्तर समृद्धि र प्रगतिको कामना गर्नुभएको छ । 

    यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले संविधान दिवसको शुभकामना व्यक्त गर्दै अमेरिका र नेपालबीचको सात दशक पुरानो सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
स्वतन्त्र एवम सार्वभौम नेपालको विकास तथा सबै नेपाली नागरिकको समृद्धिका निम्ति अमेरिका सहयोग गर्न दृढ रहेको बताउँदै राष्ट्रपति ट्रम्पले प्राथमिकताका साझा क्षेत्रमा दुई देशबीचको साझेदारी रहने विश्वास व्यक्त गर्नुभएको छ । 

    त्यसैगरी संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै स्विस महासङ्घका राष्ट्रपति विली माउररले स्विस सङ्घीय परिषद् र स्विटजरल्यान्डका जनताका तर्फबाट नेपाल, नेपाली जनता र राष्ट्रपति भण्डारीसमेतको समुज्ज्वल भविष्यको कामना गर्नुभएको छ । नेपालसँग सुदृढ सम्बन्ध कायम गर्न आफ्नो देश प्रतिबद्ध रहेको बताउँदै सन्देशमा स्विस राष्ट्रपतिले आपसी मैत्री अझ मजबुद हुने विश्वास व्यक्त गर्नुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको