अर्थ संसार, काठमाडौं -राजधानी भित्रिने मुख्यद्वार नागढुंगादेखी गल्छीसम्म पुगेको सडक जामले तीन दिन यता सरकारदेखी सर्वसाधारणसम्मको ध्यान खिचेको छ । करिव ४० किलोमिटर लामो जाममा हजारौं सवारी १० घण्टासम्म रोकिंदा दशौं हजार यात्रु सडकमा अलपत्र अवस्थामा थिए ।
जामको उकुसमुकसकाबीच उपचारका निम्ति काठमाडौं आउँदै गरेका यात्रुको बीच बाटोमै मृत्यु भएको खबरले सञ्चार माध्यमदेखी सामाजिक सञ्जाल भरिएको थियो । यो सबै घटनाक्रमलाई नजिकबाट नियालीरहेका धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का सांसद भुमि त्रिपाठी र नेकपा धादिङका कार्यवाहक अध्यक्ष नेत्रराज पौडेल भने विहानैदेखी तत्कालको लागि जाम खुलाउन र दीर्घकालिन समस्या समाधानका लागि राज्यको ढोका ढकढकाउन व्यस्त रहनुभयो ।
तत्कालको लागि समस्या साधान गर्न गृह मन्त्री रामबहादुर थापालाई भेटेर सांसद त्रिपाठीले सडकको अवस्था जानकारी गराउँदै समाधानका उपाय समेत सुझाउनु भयो । उहाँले चाड पर्वको बेला सवारी चापलाई ध्यान दिँदै ठुला सवारी रोकेर रातीको समयमा मात्र प्रवेश दिन, प्रहरीको संख्या थप गर्न र विग्रेका सवारी तत्काल हटाउन क्रेनको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद त्रिपाठीको अनुरोधलाई गम्भिरता पुर्वक लिनुभएका गृह मन्त्री थापाले १२ गतेदेखी ठुला मालवहाक सवारी चितवनमै रोक्ने निर्णय उल्ट्याउँदै आजैदेखी रोक्न निर्देशन दिनुभयो । प्रहरीको उच्च नेतृत्वलाई मन्त्रालयमा बोलाएर अत्यावश्यक बाहेक १० चक्केदेखी माथीका मालवहाक सवारी रोक्न कडा निर्देशन दिनुभयो ।
गृह मन्त्रालयबाट निस्किएर सांसद त्रिपाठी नेतृत्वको टोली दीर्घकालिन समाधानका उपाय सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेट्न भौतिक पूर्वाधार मन्त्रालय पुग्यो ।
मन्त्री महासेठलाई सडक जामका कारण यात्रुले भोगेको सास्ती, मुलुकको अर्थतन्त्रमा परेको असर र सरकार प्रति सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यक्त भएका आक्रोश बारे जानकारी गराउँदै सांसद त्रिपाठीले चाडपर्वको समयमा सडक मर्मतका काम स्थगित गर्न, विग्रिएका सवारी तत्काल हटाउन क्रेनको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद त्रिपाठीले यी सामान्य कुरामा ध्यान दिन सके सरकार प्रति सर्वसाधारणको आक्रोश कम हुने बताउनु भयो । सडक जाम हटाउने तत्कालको लागि समाधान भए पनि आगामी दिनमा यो समस्या बल्झिरहने भएकाले दीर्घकालन समाधान गर्न वैकल्पिक मार्गको निर्माणमा तिब्रता दिन अनुरोध गर्नुभयो ।
उहाँले सितापाइला–धार्के सडक निर्माण नहुँदा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण र पृथ्वी राजमार्गको स्तरोन्नतीमा कठिनाई आउने बताउँदै वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकता राख्न अनुरोध गर्नुभयो ।
सांसद त्रिपाठीले उठाउनुभएको सवाललाई गम्भिरतापूर्वक सुन्नुभएका मन्त्री महासेठले बैठकमै यातायात विभागका महानिर्देशकलाई बोलाएर तत्काल रिजल्ट आउनेगरी काम थाल्न निर्देशन दिनुभयो । विभागले आजैदेखी जाम हटाउन र सडक सफा गर्न दुई वटा डोजर पठाएको छ । अजैदेखी लागु हुनेगरी १९ गतेसम्म अत्यावश्यक सामाग्री बाहेकका मालवाहकलाई चितवनमै रोक्ने र दशैं पछि यात्रु फर्कने हुँदा अर्को निर्णय गरेर राजमार्ग जाममुक्त बनाउने प्रतिवद्धता जनाउनुभयो ।
सांसद त्रिपाठी नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल र भौतिक पूर्वाधार हेर्ने सदस्य शुसिल भट्टलाई समेत समस्याबारे ध्यानाकर्षण गराउँदै दीर्घकालिन समस्या समाधानका निम्ति वैकल्पिक मार्ग निर्माणमा जोड दिन आग्रह गर्नुभयो ।
गृह जिल्ला समेत रहेकोले विहानैदेखी जामको प्रेसरमा रहनुभएका उपाध्यक्ष कँडेलले गृह सचिव प्रेम कुमार राई र भौतिक पूर्वाधार सचिव देवेन्द्र कार्कीलाई टेलीफोन गरेर तत्काल समाधानका लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।
उपाध्यक्ष कँडेलले वैकल्पिक मार्ग निर्माणमा आफ्नो चासो रहेको बताउँदै छिट्टै सरोकारवाला निकायको सहभागीतामा स्थलगत निरिक्षण गर्ने र काम अगाडी बढाउन पहल गर्ने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य शुसिल भट्टले पृथ्वी राजमार्गको स्तरोन्नती र वैकल्पिक मार्ग निर्माणमा भएको प्रगतिवारे जानकारी गराउँदै पृथ्वी राजार्गको समानान्तर हुनेगरी बेनिदोभान–गल्छी–लामिडाँडा–सितापाइला निस्कने वैकल्पिक मार्ग खोल्न पहल गर्ने बताउनुभयो ।
दिनभरीको पहलबाट नागढुंगाको जाम घट्न थालेको, आजै गृह र यातायातको क्रेन सहित ३ वटा मेसिन सडमा पुगेको, राजमार्गमा प्रहरीको संख्या थपिएको र ठुला मालवाहक सवारी चितवनमै रोकेर राती ११ बजेपछि मात्र छाड्न थालिएको बताउँदै सांसद त्रिपाठीले आफ्नो दिनभरीको मेहनत फलदायी भएको बताउनुभयो ।
आफु निर्वाचित भएर आएदेखी नै पटक पटक नागढुंगा सडकको समस्यावारे संसदमा आवाज उठाउँदै आएको बताउँदै सांसद त्रिपाठीले भन्नुभयो आगामी दिनमा पनि कुनै समस्या नआउनेगरी वैकल्पिक मार्ग निर्माणमा लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो धार्के–सितापाइला यही वर्ष सम्पन्न हुन्छ, बेनिदोभान–गल्छी–लामिडाँडा सडक आफ्नो कार्यकालभरीमा निर्माण सम्पन्न गराएरै छाड्ने बताउनुभयो ।
सांसद त्रिपाठीले यो धादिङको मात्र एजेण्डा नभएर राष्ट्रकै समस्या भएकोले समयमै सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस