Like us!
Follow us!
Connect us!
Watch us!

दशैँमा सेवा रोक्दैन भरतपुर अस्पताल

dibesh

बुधबार, १५ असोज २०७६, १६ : १५ मा प्रकाशित

दशैँमा सेवा रोक्दैन भरतपुर अस्पताल

अर्थ संसार, काठमाडौ –  चाड पर्वका समयमा निजी अस्पतालमा सेवा पाउन कठिन हुने गर्दछ । यहाँको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले दशैँको समयमा सर्वसाधारणलाई उपचार गर्न बहिरङ्ग सेवाबाहेक सबै सेवालाई निरन्तरता दिने भएको छ । 

    विगतका वर्षमा झै यस वर्ष पनि दशैँको समयमा आकस्मिक सेवामा बिरामीको चाप बढ्न सक्ने भन्दै पूर्वतयारी गरिएको छ । अन्य समयको जस्तो नभए पनि चाडपर्वका समयमा निजी अस्पतालमा सेवा पाउन कठिन हुने भएकाले सबैको रोजाइ सरकारी अस्पताल हुने गर्दछ । 

    अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार आकस्मिक परेकालाई बहिरङ्ग सेवा नखुले पनि आकस्मिक सेवामार्फत उपचार प्रदान गरिने छ । अन्तरङ्ग विभाग सञ्चालन हुने छन् । प्रसूति सेवा अन्य समयझै निरन्तर चल्ने छ । आकस्मिक शल्यक्रिया गरिने उहाँले वताउनुभयो । चार दिन बहिरङ्ग सेवा र पालो लिएर गर्ने शल्यक्रिया नभए पनि बिरामीलाई उपचार लिन कठिन नहुने उहाँले बताउनुभयो । 

    सो समयमा बाल सघन उपचार कक्षमा कीटाणु मार्नका लागि ढोका बन्द गरेर गर्ने फुमीगेसन कार्य गरिँदै छ । दशैँका समयमा सर्वसाधारणलाई उपचारमा सहज बनाउनका लागि चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको समय तालिका बनाइसकिएको छ । यो समयमा प्राकृतिक प्रकोप र दुर्घटना भएमा तत्काल उपस्थित हुनका लागि स्थानीय चिकित्सकहरुलाई आग्रह गरिएको छ । 

    विभागीय प्रमुख निरन्तर सम्पर्कमा रहने तिवारीले बताउनुभयो । भरतपुर अस्पतालमा ६०० श्यया रहेका छन् । चितवनसहित देशका २४ जिल्लाका बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । निजी अस्पतालमा दशैँ आउनु केही दिनअघि देखिनै बिरामी भर्ना र शल्यक्रिया घटाउँदै लगिन्छ । ती बिरामीसमेत सरकारी अस्पतालमा जाने गर्दछन् । 

    अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अन्य समयको जति नभए पनि दशैँका समयमा समस्या पर्ने अधिकांश बिरामी सरकारी अस्पताल आउने गर्दछन् । केही दिन अघि कर्मचारीको आन्दोलनका कारण एक दिनमात्र सेवा प्रभावित हुँदासमेत धेरैले दुःख पाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको