अर्थ संसार, काठमाडौ – भरतपुर महानगरपालिका–१० मा रहेको चितवन कालिका मन्दिरमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । जहाँ अहिले दुर्गा पूजा भइरहेको छ । सोही मन्दिरको छेउको भजनकीर्तन गर्ने कोठामा एक महिला दुवै हातमा र छातीमा जमारा राखेर भुइँमा सुतिरहनुभएको छ ।
मन्दिरको छेउमा एउटा कुनामा रातो कपडाले वारिएको छ । सो कपडाले वारेको स्थानमा झूल लगाइएको छ । झूलभित्र वडा नं ९ शरदपुरकी ४० वर्षीया विष्णु ढकाल दशैँको नवरात्रि शुरु भएदेखि नै यसरी बसिरहनुभएको छ । उहाँलाई कुर्न र रेखदेख गर्नका लागि श्रीमान् कृष्ण ढकाल बसिरहनुभएको छ ।
यही असोज १२ गते घटस्थापनाका दिनदेखि उहाँ सो मन्दिरमा आएर निराहार देवीको व्रत बस्नुभएको हो । श्रीमान् कृष्णका अनुसार हिन्दू धर्मको रक्षा र राष्ट्र शान्तिका लागि उहाँ यसरी निराहार व्रत बस्नुभएको हो । यसबाट दैवी शक्ति प्राप्त हुने उहाँको विश्वास छ । पहिलादेखि नै धर्ममा विश्वास गर्नुहुने विष्णुले विगत केही वर्षयता हस्तरेखाबाट भविष्य बताउँदै आउनुभएका उहाँका श्रीमान् कृष्णले जानकारी दिनुभयो ।
सोही कार्यका सिलसिलामा विगत पाँच वर्षदेखि उहाँमा निराहार व्रत बसेर आफ्नो हात र छातीमा उमारेका जमरा नवमीका दिन देवी मन्दिरमा चढाउने इच्छा थियो । सोही इच्छाअनुसार यस वर्ष उहाँले निराहार व्रत बस्नुभएको कृष्णले जानकारी दिनुभयो । यसरी उमारिएको जमरालाई नवमीका दिनमा दुर्गा मन्दिरमा चढाउने, दशमीका दिनमा लाख बत्ती बालेर व्रत तोड्ने कार्यक्रम छ ।
आफ्नो घर चलाउनका लागि सामान्य माछापालन गर्ने उक्त परिवारले धर्मप्रति निकै आस्था राख्दै आएको छ । सो व्रत बस्नुभन्दा दुई दिनदेखि विष्णुले केही नखाई बस्नुभएको श्रीमान् कृष्णले बताउनुभयो । लामो समयसम्म निराहार व्रत बस्दा पनि विष्णुको शरीरमा खासै समस्या नदेखिएको उहाँले बताउनुभयो । घटस्थापनाका दिन उहाँको हात र छातीमा जौ र मकैको जमरा राखिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस