अर्थ संसार, मेलम्चि– गाईभैँसी किन्न गाउँ सरकारबाटै अनुदान पाएपछि त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका किसानहरुमा खुशीयाली छाएको छ । स्थानीय धुस्कुन कृषि सहकारीमार्फत गाउँ सरकारको अनुदान हात पारेपछि शनिबार धुस्कुनका पशुपालक किसानहरु खुशी देखिन्थे ।
गाउँपालिकाको अनुदानबाट शनिबार धुस्कुन कृषि सहकारीले ७० जना सदस्यलाई गाईभैँसी किन्नका लागि अनुदान उपलब्ध गराएको छ । आठौँ वार्षिक साधारणसभाका अवसरमा भैँसी खरिदका लागि ५० जनालाई रु ३० हजारका दरले अनुदान प्रदान गरिएको छ । गाई किन्नका लागि २० जनालाई रु १५ हजारका दरले अनुदान दिइएको छ ।
गाउँपालिका र वडाको बजेटबाट सहकारीमार्फत ७० जना किसानलाई गाईभैँसी खरिदका लागि अनुदान दिइएको हो । चालू आर्थिक वर्षमा त्रिपुरासुन्दरी गाउँपालिकाले धुस्कुन कृषि सहकारीका लागि रु १८ लाख गाईभैँसी खरिद अनुदान उपलब्ध गराएको र सहकारीले आफ्ना सदस्यहरुलाई सो अनुदान प्रदान गरेको त्रिपुरासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिनुभयो । “पशुपालनमा प्रोत्साहनका लागि गाउँपालिकाबाट रु १८ लाख अनुदान छुट्याइएको थियो, सहकारीमार्फत किसानका हातमा पुरयाइएको छ”, वडाध्यक्ष रिसालले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले साधारणसभाको उद्घाटन गर्नुभएको थियो । साधारणसभा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले निर्वाहमुखी मात्र नभई व्यावसायिक कृषि र पशुपालनमा लाग्न आग्रह गर्नुभयो । आगामी वर्षका लागि गाईभैँसी खरिदका लागि गाउँपालिकाले रु २० लाख अनुदानको व्यवस्था गरिदिनेसमेत अध्यक्ष श्रेष्ठले घोषणा गर्नुभयो । साधारणसभाका अवसरमा उत्कृष्ट कृषकहरुलाई सम्मानसमेत गरिएको थियो ।
धुस्कुन कृषि सहकारीका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डेरी उद्योग स्थापनाका लागि रु ३५ लाख बराबरको उपकरण प्रदान गरेको थियो । सहकारीका लागि प्रदेश र स्थानीय सरकारबाट महत्वपूर्ण सहयोग मिलेको भन्दै धुस्कुनलाई दुग्धको पकेट क्षेत्रका रुपमा विकास गरिने सहकारीका अध्यक्ष बलराम न्यौपानेले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस