Like us!
Follow us!
Connect us!
Watch us!

प्राइस कटिङ गर्दै व्यवसाय खोस्दै बिमा कम्पनी, सरकार मौन !

अर्थ संसार

आइतबार, १५ मंसिर २०७६, ०९ : ०२ मा प्रकाशित

प्राइस कटिङ गर्दै व्यवसाय खोस्दै बिमा कम्पनी, सरकार मौन  !

अर्थ संसार, काठमाडौं - निर्जीवन बिमा कम्पनीहरूले प्राइस कटिङ गर्दै व्यवसाय खोस्न थालेका छन् । बिमा समितिले तोकेको बिमादरलाई उल्लंघन गरी कम्पनीहरूले फूखुसी दर कायम गर्दै व्यवसाय तान्न थालेका छन् ।

कम्पनीहरूले आफूखुसी बिमादर कायम गरी व्यवसाय गरिरहँदा पनि समितिले कारबाही गर्न नसक्दा कम्पनीहरू प्राइस कटिङमा झनै उत्साहित देखिएका छन् ।

बिमा समितिले सम्पत्ति, सामुद्रिक र मोटर बिमाको दर तोकेको छ । बिमा ऐनअनुसार कम्पनीहरूले समितिले तोकेको न्यूनतम दरभन्दा तल झरेर व्यवसाय गर्न पाउँदैनन् ।

अन्य बिमा व्यवसायको हकमा भने कम्पनीहरूले आफूखुशी व्यवसाय गर्न पाउँछन् । तर, कम्पनीहरूले नयाँ व्यवसाय खोज्न नसकेपछि समितिले तोकेको दरभन्दा पनि कम मूल्य कायम गर्दै अस्वस्थ प्रतिस्पर्धा बढाएको एक कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘एक वर्ष एउटा कम्पनीले गरेको बिमा सम्पत्ति अर्को वर्ष अर्को कम्पनीले प्राइस कटिङ अर्थात् समितिले तोकेको भन्दा कममा बिमा गरिदिन्छ । तुलनात्मक रूपमा बिमाशुल्क कम पर्ने भएपछि बिमितहरू खुसी हुन्छन्,’ उनले भने ।

 कसरी हुन्छ प्राइस कटिङ ?

बिमा समितिले बिमादर तोकेको सम्पत्तिको बिमा गर्दा एउटै उद्योग वा परियोजना परिसरभित्रका संरचना र सामग्रीको बिमा एउटै पोलिसीमा समेटिनुपर्छ । साथै, परिसरभित्रका  संरचनाहरूमध्येको सबैभन्दा उच्चदर कायम गर्नुपर्छ ।

उजुरी परेपछि मात्रै निरीक्षण
 राजुरमण पौडेल, कार्यकारी निर्देशक- बिमा समिति कम्पनीहरू आफैँ अनुशासनमा बस्नुपर्छ । स्वनियमलाई पालना गर्नुपर्छ । हामीले उजुरी परेकालाई स्पष्टीकरण सोधेका छौँ । उजुरी परेपछि मात्रै हाम्रो टोली निरीक्षणका लागि जान्छ । निरीक्षणबाट फेला परेमा हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।

तर, बिमा कम्पनीहरूले एउटै उद्योग परिसरभित्रका संरचना र सामग्रीको फरक–फरक दरमा बिमा पोलिसी जारी गर्छन् । कम्पनीहरूले भिन्न–भिन्न मिति बनाएर छुटाछुट्टै बिमा पोलिसी जारी गरी बिमा गर्छन् । यसरी बिमा गर्दा एउटा परियोजनाभित्रका संरचनाको बिमादर तल–माथि गर्न सकिने भएकाले कम्पनीहरूले यस्तो उपाय अपनाएका हुन् । जुन बिमा ऐनविपरीत छ ।

त्यस्तै, कतिपय कम्पनीले समितिले तोकेको बिमादरमा नै सम्पत्तिको बिमा गर्छन् । तर, बिमितलाई कम्पनीले वितरण गर्न पाउने इन्सेन्टिभ रकम कमिसनका रूपमा बुझाउँछन् ।

 के हुन्छ प्राइस कटिङको प्रभाव ?

प्राइस कटिङ गर्दा सबैभन्दा बढीमा मारमा बिमितहरू पर्छन् ।  यदि कम्पनीले एउटै उद्योग परिसरभित्रको संरचनाको फरक–फरक बिमा गरेको छ र बिमा गरिएको संरचनामा दुर्घटनामा परेमा समयमा दाबी भुक्तानी गर्न सक्दैन ।

किनभने, कम्पनीले ऐनविपरीत फरक–फरक पोलिसी जारी गरेको छ । दाबी भुक्तानीका लागि सर्भे रिपोर्ट चाहिन्छ । तर, गलत ढंगबाट बिमा गरिएको सम्पत्तिको सर्भे गर्न सर्भेयर पछाडि हट्ने बिमा कम्पनीका प्रमुख कार्यकारीले बताए ।

‘कम्पनीले भुक्तानी गर्न तयार भएर मात्रै हुँदैन । पुनर्बिमा कम्पनी पनि तयार हुनुपर्छ । पुनर्बिमा कम्पनीले त सर्भेयरको रिपोर्ट खोज्छ । सर्भेयरले बिमा गर्दाको प्रस्ताव फाराम हेर्छ,’ उनले भने ।

प्राइस कटिङले तत्काल बिमा कम्पनीको व्यवसाय बढ्छ । ठूला–ठूला सम्पत्तिको बिमा गर्दा बिमाशुल्क पनि धेरै आउने भएकाले व्यवसायीहरूले तत्कालको फाइदाका लागि यस्तो खालको बिमा गर्ने गरेको कम्पनीहरू नै बताउँछन् । त्यस्तै, कतिपय उद्योगीका कर्मचारीले कमिसन पाउने भएकाले पनि यस्तो खालको बिमा गर्दै आएका छन् ।

 के हो प्राइस कटिङ भनेको ?

नियामक निकायले जारी गरेको दररेटलाई तोडमोड गरी अर्को दर कायम गर्नेलाई प्राइस कटिङ भनिन्छ । प्राइस कटिङ बिमाशुल्क घटाउने एउटा उपकरण हो ।

उदाहरणका लागि बिमा समितिको नियमअनुसार एउटै औद्योगिक परिसरमा रहेका सहायक वा विविध उपयोगिताका सामान तथा वस्तुहरू, ब्लक, गोदाम, ट् यांकर फर्म, पाइपलाइन, रोड, कम्पाउन्ड वाल आदि भएको अवस्थामा तीमध्ये सबैभन्दा उच्च बिमादरमा सबै बिमा गरिनुपर्छ । यदि यी संरचना फरक–फरक रहेको अवस्थामा मात्रै फरक दर लागू गर्न सकिन्छ ।

तर, कम्पनीहरूले एउटै औद्योगिक परिसरमा रहेका संरचनाहरूको छुट्टाछुट्टै पोलिसी जारी गरी फरक– फरक दरमा बिमा गर्छन् । यसरी बिमा गर्दा सामान्यत बिमाशुल्क कम पर्न आउँछ । नयाँपत्रिबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको