Like us!
Follow us!
Connect us!
Watch us!

'हेमबहादुर मल्ल ' सम्मान कुलमान घिसिङ्ग र डा. सन्दुक रुइतलाई प्रदान गरिने

निशा हुमाँगाई

मंगलबार, ०८ पुस २०७६, १५ : ४७ मा प्रकाशित

'हेमबहादुर मल्ल ' सम्मान कुलमान घिसिङ्ग र डा. सन्दुक रुइतलाई प्रदान गरिने

अर्थ संसार, काठमाडौँ – नेपाल जनप्रशासन संघ रसाल्ट ट्रेडिङ कर्पोरेशनद्वारा स्थापित ‘हेमबहादुर मल्ल’ सम्मान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । संघ र कर्पोरेशनद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा २०७३ सालको उक्त सम्मान घिसिङ र २०७४ सालको सम्मान रुइतलाई प्रदान गरिने घोषणा गरिएको हो ।

दोस्रो बजारमा साल्ट्र ट्रेडिङ्गको शेयर मूल्य ह्वात्तै बढ्नुमा हाम्रो कुनै रोल छैन-सिइओ उर्मिला श्रेष्ठ 

२०७३ र ७४ सालको सम्मानको लागि नेपाल जनप्रशासन संघका पूर्व अध्यक्ष कृष्णहरी बास्कोटाको संयोजकत्वमा रहेको छनौट समितिले उपयुक्त पात्र छनौट गरेको जनाइएको छ । लामो समयदेखि लोडसेडिङको समस्यामा रहेकोमा विद्युत शक्तिको समुचित व्यवस्था गरी मुलुकलाई लेडसेडिङमुक्त तुल्याउने घिसिङ र आँखा उपचारमा अतुलनीय योगदान गर्ने डा. रुइतलाई सम्मान गर्न लागिएको पत्रकार सम्मेलनमा बताइयो । उक्त सम्मानको राशी जनही दुई लाख रुपियाँ रहेको छ । २०२० सालमा साल्ट ट्रेडिङमा प्रवेश गरेका हेमबहादुर मल्लको जन्म सन १९३८ जुलाई १७ का दिन बाग्लुङ ढोरपाटनमा भएको थियो । उनले करीब २५ वर्षसम्म महाप्रबन्धक भएर संस्थालाई हाँकेका थिए । २०६० लाखदेखि वर्षेनी २ लाख रुपियाँको हेमबहादुर मल्ल सम्मान प्रदान गरिंदै आएको छ ।

हेमबहादुर मल्ल सम्मानको इतिहास

 नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको आपसी समझदारीबाट हेमबहादुर मल्ल सम्मानको २०५९ सालमा स्थापना गरिएको हो ।

सन् १९३८ जुलाई १७ का दिन निसिभुजी, बाग्लुङ्ग, ढोरपाटनमा जन्मिनु भएका हेमबहादुर मल्लको २०५७ कार्तिक १२ गते निधन भयो । उहाँ २०२० सालमा साल्ट ट्रेडिङ्गमा प्रवेश गर्नु भएको थियो । उहाँले करिब २५ बर्ष साल्ट ट्रेडिङ्गको महाप्रबन्धक भएर सो संस्थालाई हाक्नु भयो । त्यसपछि विभिन्न जिम्मेवारीमा रहेर साल्ट ट्रेडिङ्गलाई एउटा पहिचानयोग्य संस्थामा रुपान्तरित गर्न सफल हुनु भयो । इमान्दार, परिश्रमी, कर्तव्यनिष्ट, शीष्ट, नरम एवं हकी स्वभावका धनी हेमबहादुर मल्ललाई ‘रोलमोडल’ प्रशासक÷व्यवस्थापकका रुपमा लिईन्छ । उहाँको स्मरणमा बर्षेनीरु. २ लाख धनराशीको हेमबहादुर सम्मान प्रदान गर्ने गरी यस सम्मानको थालनी गरिएको हो

इतिहास : विगतमा सम्मानीत हुनेहरुको सूची :

  •  २०६० सालमा पहिलो पटक यो सम्मान शिक्षाविद्, त्रिविविका उपकुलपति, जापानका राजदूत श्री केदारभक्त माथेमालाई प्रदान गरियो ।

  • २०६१ सालमा यो सम्मान महिला सशक्तिकरण र महिला विकासका क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्ने तत्कालीन महिला विकास विभागकी महानिर्देशक एवं यूनिफेमकी रिजनल डाईरेक्टर श्री चाँदनी जोशीलाई प्रदान गरियो ।

  •  २०६२ सालमा यो सम्मान ख्याती प्राप्त मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई प्रदान गरियो ।

  •  २०६३ सालमा यो सम्मान वरिष्ठ प्रशासनविद् एवं नेपाल सरकारका पूर्व मुख्य सचिव डा. विमल कोइरालालाई प्रदान गरियो ।

  • २०६४ सालमा यो पुरस्कार सूचना प्रविधि क्षेत्रमा विशिष्ट योगदान पुर्याएका महावीर पुनलाई प्रदान गरियो ।

  •  २०६५ सालमा यो सम्मान सफल पर्यटन व्यवसायी आम्बिका श्रेष्ठलाई प्रदान गरियो ।

  • २०६६ सालमा यो सम्मान पूर्व प्रमुख निर्वाचन आयुक्त एवं प्रशासनविद् भोजराज पोखरेललाई प्रदान गरियो ।

  •  २०६७ सालमा यो सम्मान पूर्व सभामुख दमननाथ ढुङ्गानालाई प्रदान गरियो ।

  • २०६८ सालमा यो सम्मान शिक्षाविद् एवं काठमाडौं विश्वविद्यालयका पूर्व उपकूलपति प्रा. डा. सुरेशराज शर्मालाई प्रदान गरियो ।

  • २०६९ सालमा यो सम्मान पूर्व प्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई प्रदान गरियो ।

  • २०७० सालको यो सम्मान नेपाल सरकारका पूर्व सचिव एवं लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीलाई प्रदान गरियोे ।

  • २०७१ सालको यो सम्मान नेपाल सरकारका पूर्वमुख्य सचिव एवं अमेरिकाका लागि नेपालका राजदूत दामोदर गौतमलाई प्रदान गरियो ।

  • २०७२ सालको यो सम्मान नेपाल सरकारका पूर्व अर्थमन्त्री एवं पूर्वअर्थ सचिव तथा नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डेलाई प्रदान गरियो ।

यो पटक सम्मान प्रदान गरिने पात्रहरु :

  • २०७३ सालको हेमबहादुर मल्ल सम्मान नेपालमा विगत लामो समयदेखि लोडसेडिङ्गको समस्या रहेकोमा विद्युत शक्तिको समुचित व्यवस्था गरी मुलुकलाई लोडसेडिङ्गमुक्त तुल्याउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई प्रदान गरिनेछ ।

  • यसैगरी २०७४ सालको हेमबहादुर मल्ल सम्मान आँखा उपचारमा अतुलनीय योगदान गर्ने आँखाका विशेषज्ञ चिकित्सक डा. सन्दुक रुईतलाई प्रदान गरिनेछ ।

उच्चस्तरीय सम्मान छनौंट समिति र कार्यप्रक्रिया :

  • २०७३ साल र २०७४ सालको हेम बहादुर मल्ल सम्मानको लागि उपयुक्त पात्रको छनौंट गर्न नेपाल जनप्रशासन संघका पूर्बअध्यक्ष कृष्णहरि बास्कोटाको संयोजकत्वमा छनौंट समिति गठन भएको थियो ।

  • पांच सदस्यीय यस समितिमा डा हिरामणि घिमिरे, लक्ष्मीदास मानन्धर, चाँदनी जोशी र केदार खड्का सदस्य रहनु भएको थियो ।

  • यस समितिलाई दिईएको कार्यादेशमा गौरव गर्न लायक ठोस योगदान गरेको, उदाहरणीय नेतृत्व + वर्तमानमा समेत सदाचारयुक्त अबस्थामा रहेको र उच्च नैतिक चरित्र÷स्वच्छ छबी÷कहिँकतै प्रश्न नउठेको पात्रको पहिचान गर्न भनिएको थियो ।

  • यस समितिले संघबाट संभावित ७० जनाको नामावली प्राप्त गरेको थियो । समितिले बृहत् भेला सहितको सुझाब संकलन कार्यक्रम संचालन गरेको थियो ।

  •   तत् पश्चात समितिले निश्चित मापदण्ड र कार्यप्रक्रिया अबलम्बन गरी छनौंटको काम गरेको थियो ।

  • मूल्यांकनका आधारहरु मूलत Working with others, Leading and Managing, Delivering and Improving, Communication and Influencing and Organizational and Financial Awareness, Analytical Thinking and Judgement रहेका थिए।

  •   प्रथम चरणमा समितिले निश्पक्षताको प्रतिबद्धता व्यक्त गर्दै काम आरम्भ गरेको थियो । समितिले दोस्रो चरणमा सुझाव संकलन गरेको थियो । तेश्रो चरणमा समितिले व्यक्तिगत मूल्यांकनको काम गरेको थियो । चौथो चरणमा संयोजकबाट समीक्षा प्रस्तुतीभएको थियो । पाँचौँ चरणमा गम्भिर चिन्तन सहित अन्तिम मूल्याकंनको कार्य गरिएको थियो ।

सम्मान दिने आधारहरु : कुलमान घिसिंग

  •  भारतमा गई इञ्जिनियरिङमा स्नातक अध्ययन गर्न छात्रवृत्ति पाएको ।

  •  अध्ययन सकिएपछि नेपाल फर्केर सन् १९९५ मा विद्युत प्राधिकरणमा सेवा प्रवेश गरेको ।

  • सेवाको शुरुवात नै दुर्गम गाउँमा विजुली कसरी पु¥याउने र साना जलविद्युत् आयोजना कसरी सञ्चालन गर्ने जस्ता जनताको मन छुने र ह्रदय जित्ने कामबाट आरम्भ गरेको ।

  •  सन् २०१० मा चिलिमे जलविद्युत् कम्पनी लि.को प्रबन्ध निर्देशक हुँदा रसुवाका स्थानीय जनतालाई विद्युत् आयोजनाको शेयरधनी बनाई आयोजनामा स्थानीय जनताको अपनत्व र स्वामित्वको अनुकरणीय प्रणालीको सुत्रपात गरेको ।

  •   सन् २०१६ को सेप्टेम्वरमा प्राधिकरणको नेतृत्व सम्हाले लगत्तै शुरुमा काठमाडौं र केही समयपछि पूरै देशलाई नै लोडसेडिङ मुक्त बनाएको ।

  • यसरी विद्युत सम्भावनामा समृद्ध भएर पनि दैनिक १८ घण्टा सम्मको अँध्यारोमा बाँँच्न विवश नेपालीहरुलाई लोडसेडिंग मुक्त तुल्याउन अतुलनीय योगदान गरेको ।

सम्मान दिने आधारहरु : डा. सन्दुक रुईत

  •  नेपालको नेत्र चिकित्सा क्षेत्रमा अप्रतिम योगदान पुर्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति आर्जन गर्ने विशिष्ट प्राज्ञिक तथा पेशागत चिकित्सक भएको ।

  • भारतका प्रतिष्ठित शिक्षाकेन्द्रहरुबाट नेत्र चिकित्सा विज्ञानमा उच्च शिक्षा एवं प्रशिक्षण आर्जन गरी सन् १९७७ देखि वीर अस्पतालबाट आफ्नो चिकित्सा सेवा आरम्भ गरेको ।

  • विगत चार दशकको आफ्नो व्यावसायिक जीवनमा देश–विदेशका कैयन प्रतिष्ठित संस्थाहरुमा आवद्ध भई बिभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेको ।

  • दर्जनौ स्तरीय जर्नलहरुमा अनुसन्धानात्मक लेखहरु प्रकाशित गरेको ।

  •  सन् १९९४ मा तिलगंगा आँखा अस्पतालको स्थापना भएपश्चात् यसको कार्यकारी निर्देशकका रुपमा कार्यरत रहेको ।

  • झण्डै १ लाख ३० हजारभन्दा बढीको उपचार गरी उनीहरुको नेत्रज्योति पुनःस्थापित गरेको ।

  • साथै ३० भन्दा बढी मुलुकहरुमा प्रयोग भइराखेको स्तरीय, कम खर्चिलो एवं भरपर्दो आँखाको लेन्स उत्पादन गर्ने जस्ता महत्वपूर्ण कार्यमा प्रत्यक्ष योगदान गरेको ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको