Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आउने पहिला पर्यटकलाई सम्मान

निशा हुमाँगाई

मंगलबार, १५ पुस २०७६, १२ : ०५ मा प्रकाशित

नेपाल आउने पहिला पर्यटकलाई सम्मान

अर्थ संसार, काठमाडौं – भाेलि (बुधबार) सन् २०२० को जनवरी १ तारिखका दिन अर्थात अंग्रेजी नयाँ वर्षका दिन पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पहिला पाँच विदेशी पाहुनालाई सम्मान गरिने भएको छ । मेचीनगर नगरपालिकाले नाकामा विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई नेपाली ढाकाटोपी, अबिर र मालाले सम्मान गर्ने भएको हो ।

नगर पर्यटन विकास समितिका संयोजक तथा नगरउपप्रमुख मीना उप्रेतीले  प्रवेशद्वारमै कार्यक्रमको आयोजना गरी सो दिन विभिन्न जातजातिको झाँकीसहितको विशाल र्याली निकालिने र उनीहरुको जातीय पहिचान, कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताएका छन् ।

उनले यस नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिन होर्डिङबोर्ड राख्ने र घरबासको व्यवस्थाका बारेमा जानकारी दिने बताए । उनले सुरक्षाकर्मीसँगको समन्वयमा सुरक्षा संयन्त्रलाई मजबुत बनाएको जानकारी दिए ।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीले सोही दिन भद्रपुर विमानस्थल भएर आउने पहिलो हवाईयात्रुलाई सम्मान गर्ने जनाएको छ । झापाका पर्यटकीयस्थलको बारेमा जानकारी दिने र एकपटक घुम्नका लागि निम्तोसमेत दिने नेकपा जिल्ला सदस्य शिव ढुङ्गेलले बताए ।

भद्रपुर नगरपालिकाले विमानस्थलमै नगरका पर्यटकीय स्थानको बारेमा जानकारी दिन दृश्य बोर्ड राख्ने जनाएको छ । नगरमै रहेको महाभारतकालीन महत्व बोकेको किच्चक बध, महेन्द्र उद्यान, विभिन्न जातजातिका धार्मिक मठमन्दिर रहेको कमलधापलगायका बारेमा बोर्डमा जानकारी दिइने नगरका प्रशासकीय अधिकृत तुलसी श्रेष्ठले बताए । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको