Like us!
Follow us!
Connect us!
Watch us!

जोखिममा आधारित पूँजी सम्बन्धी अन्तरक्रिया सम्पन्न, प्राधिकरणले माग्यो बीमकको सुझाव

अर्थ संसार

विहीबार, २५ असार २०८३, १० : २२ मा प्रकाशित

जोखिममा आधारित पूँजी सम्बन्धी अन्तरक्रिया सम्पन्न, प्राधिकरणले माग्यो बीमकको सुझाव

नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको दुई वर्षको समीक्षा, बीमकहरूका यस सम्बन्धी अनुभव आदान–प्रदान र प्रस्तावित परिमार्जनका विषयहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी कार्यान्वयन सफल ढङ्गले अगाडि बढिरहेको बताए । कार्यकारी निर्देशक सुवेदीले जोखिममा आधारित पूँजी कार्यान्वयनको दुई वर्षको सङ्क्रमणकालमा देखिएका सजिला र अप्ठ्यारा पक्षहरूमा छलफल गरी आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा ठोस निष्कर्ष सहितको सुझाव दिन बीमकहरूलाई आग्रह गरे ।

सुवेदीले बीमकहरूबाट प्राप्त हुने सुझावहरू समेतका आधारमा जोखिममा आधारित पूँजी सम्बन्धी व्यवस्था व्यावहारिक रूपमा समयानुकूल परिमार्जन हुँदै जाने स्पष्ट पारे ।

नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले जोखिममा आधारित पूँजीको कार्यान्वयन सम्बद्ध सबैको सिकाई, मूल्याङ्कन, समीक्षा तथा विश्लेषण र अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा निरन्तर सुधार तथा परिमार्जनका साथ प्रभावकारी रूपले अगाडि बढ्दै जाने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पूँजी कार्यान्वयनको दुई वर्षको समीक्षा र परिमार्जनका विषयहरू सम्बन्धी प्रस्तुती गरेका थिए । मल्लले जोखिममा आधारित पूँजी कार्यान्वयनका सन्दर्भमा प्राधिकरणले बीमकहरूबाट तथ्याङ्कको गुणस्तर तथा प्रणालीमा सुधार, बीमाङ्कीको क्षमता अभिवृद्धि, संस्थागत जोखिम संस्कृतिको विकास, जोखिम व्यवस्थापनको सुदृढीकरण र समयमैं प्रतिवेदन पेशको अपेक्षा गरेको बताए ।

जीवन बीमक संघ, नेपालका अध्यक्ष प्रवीण रमण पराजुलीले जोखिममा आधारित पूँजी कार्यान्वयनका सन्दर्भमा संघले दिएका सुझावहरू ग्रहण गरेकोमा प्राधिकरणप्रति आभार प्रकट गरे । कार्यक्रममा सहभागीहरूले जोखिममा आधारित पूँजी कार्यान्वयनका क्रममा हासिल गरेका अनुभव आदान–प्रदान गर्नुका साथै जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिकामा विद्यमान र प्रस्तावित व्यवस्थाका सम्बन्धमा जिज्ञासाहरु राखेका थिए ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका तथ्याङ्कशास्त्री बसन्त प्रसाद बोहराले प्राधिकरणले यस वर्षदेखि बीमा सम्बन्धी सम्पूर्ण तथ्याङ्कहरू समावेश गरी वार्षिक पुस्तक प्रकाशन गर्न शुरू गरेको र पहिलो वार्षिक पुस्तकका रूपमा ‘इन्स्योरेन्स स्टाटिस्टिकल यएर बुक २०८१/८२’ प्रकाशन गरेको जानकारी दिए ।

कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, जोखिम व्यवस्थापन शाखा प्रमुख र आरबीसी सम्पर्क व्यक्तिहरूको सहभागिता रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको