अर्थ संसार, काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले संवैधानिक व्यवस्थाअनुसार उपसभामुखको हैसियतमा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्धवार नै बन्न नपाउने दाबी गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता गुरूङले पछिल्लो समय मुलुकमा अनपेक्षित परिघटना भैरहेकोतर्फ सचेत गराए । उनले भने,‘संसद अवरूद्ध हुनु दुःखद् हो । यदि संसद यही तवरले अवरूद्ध भैरहे मुलुकको सिस्टममा गत्यावरोध हुनसक्छ ।’ सदनको गत्यावरोध हटाउनको लागि र सदन सुचारू गर्नको लागि सबै दल गम्भिर हुनुपर्नेमा जोड दिए । यद्धपी उनले अहिलेको संसदको गत्यावरोध पार्टीसँग सम्बन्धित नभएको जिकिर गरे । ‘यो गत्यावरोध संवैधानिक अंगसँग सम्बन्धित छ ।’–उनले भने,‘त्यसैले पार्टीले मात्रै निकास दिन सक्दैनन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै गुरूङले अहिले सभामुख पद रिक्त रहेकोले त्यसको लागि निर्वाचन आवश्यक रहेको सुनाए । सदनमा बहुमत भएको नाताले सभामुखमा नेकपाले उम्मेद्धवारी दिने उनले बताए । उनले भने,‘सबै हिसाबले सभामुख नेकपाले लिने कुरा उत्तम हो । तर, यसको लागि संवैधानिक बाटो खुलाउनुपर्छ ।’ उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको पनि उनले सुनाए । ‘उपसभामुखलाई पार्टीले निर्देशन दिन मिल्दैन् । आग्रहमात्रै गर्न मिल्छ । उहाँ स्वतन्त्र हुनुहुन्छ । पार्टीको कुनै ह्विप जारी गर्न मिल्दैन् । मार्गप्रशस्त गर्न त उहाँले आफ्नो स्वविवेकीय क्षेत्राधिकार प्रयोग गर्नसक्नुहुन्छ ।’–गुरूङले थपे ।
संसदको डेडलक फुकाउनको लागि संसदको नियामावली फलो गर्नुपर्ने उनको धारणा छ । संविधानले सभामुख नरहने परिकल्पना नगरेको पनि उनले सुनाए । उनले भने,‘संविधानले कायममुकायमको पनि व्यवस्था गरेको छैन् ।’ उपसभामुखले अन्तरवस्तु आकर्षण गर्नेगरि बैठक बोलाउन नसक्ने उनको तर्क छ ।
उनले उपसभामुखलाई सभामुख बनाउने व्यवस्था नरहेको स्पष्ट पारे । उनले भने,‘उपसभामुख पदमा रहिरहेर सभामुखमा आफ्नो उम्मेद्धवारी दिन मिल्दैन । यदि उम्मेद्धवार हुन चाहेको भए उपसभामुखबाट अनिवार्य रूपमा राजीनामा दिनुपर्छ ।’ उनले अहिले महिला वा पुरूषलाई सभामुख बनाउने भन्ने बहस नभएको सुनाउँदै घट्नाक्रमले संकट आईपर्नसक्ने पनि सुनाए । ‘यस्तो अवस्थामा हामीले संवैधानिक व्यवस्था फलो गर्नुपर्छ ।’–उनले थपे ।
अहिलेको संसदको गत्यावरोध खुलाउनको लागि दुई वटा विकल्प रहेको सुनाउँदै गुरूङले भने,‘कि त सर्वोच्च अदालतको फैसला तुरून्त आउनुपर्यो, या त उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्छ । पार्टीको आग्रह पनि उहाँलाई मार्ग प्रशस्त गर्न रहेको छ ।’ संवैधानिक रूपमै सभामुखमा उम्मेद्धवारी दिने बाटो खुल्ला नभएकोले नेकपाले उम्मेद्धवार तय नगरेको उनको तर्क छ । उनले भने,‘संवैधानिक संकटको समाधान हुनेबित्तिकै सभामुखमा ए, बि, सि वा डि जो भएपनि उम्मेद्धवार तय हुन्छ । पहिला संकट फुकाउनुपर्छ ।’ ढिलो वा चाँडो उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनेमा आफू विश्वस्त रहेको पनि गुरूङको भनाई छ ।
उनले संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता कसैलाई पनि नहुने र कम्युनिष्ट पार्टीमा त झनै त्यो कुरा स्विकार्य नहुने तर्क गरे । उनले भने,‘यो फेयर पोलिटिक्स होईन ।’ व्यक्तिका ईच्छा, आकांक्षा पूरा गर्नको लागि सदन अवरूद्ध गर्न नहुने उनको भनाई छ । उनले उपसभामुख यथावत रहेको अवस्थामा नेकपाले सभामुखमा उम्मेद्धवारी दिन नपाउने पनि स्पष्ट पारेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस